तीनवटै अभियोगमा दोषी ठहर नरेश भट्टलाई के होला सजाय ?
धनगढी: अमेरिकाको भर्जिनियामा ममता काफ्लेको हत्या प्रकरणमा दोषी ठहर भएका नरेश भट्टलाई अब कति सजाय होला भन्ने चासो बढेको छ।
पत्नी ममताको हत्या गरेको, शव लुकाएको र शवको अपमान गरेको अभियोगमा अदालतको जुरीले भट्टलाई दोषी ठहर गरेपछि अब उनको सजाय निर्धारणको प्रक्रिया बाँकी छ।
अमेरिकाको भर्जिनिया राज्यमा प्रथम श्रेणीको हत्यामा दोषी ठहर हुने व्यक्तिलाई २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्छ। भट्टलाई लागेको हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय हुन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। शव लुकाउने र शवको अपमान गर्ने दुई छुट्टाछुट्टै अभियोगमा भने प्रत्येकमा अधिकतम पाँच वर्षसम्म कैद हुन सक्छ। यसअनुसार हत्याको अभियोगमा आजीवन कारावास र अन्य दुई अभियोगमा थप कैद सजायको सम्भावना छ। तर, अन्तिम सजाय कति हुने र ती सजाय कसरी कार्यान्वयन हुने भन्ने अदालतको निर्णयमा निर्भर हुनेछ।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा करिब छ हप्तासम्म चलेको सुनुवाइपछि नोभेम्बर १० मा जुरीले भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गरेको हो। अदालतले उनलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने र शवको अपमान गर्ने अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकिएको छ। फैसला आएपछि उनको धरौटीसमेत खारेज गरिएको छ।
अदालतमा भट्टले सन् २०२४ जुलाई ३० मा पत्नी ममतालाई शयनकक्षमा अचेत अवस्थामा फेला पारेको र बचाउने प्रयास असफल भएपछि उनको शव टुक्र्याएर फोहोरमा फालेको बताएका थिए। तर, उनले ममताको हत्या गरेको अस्वीकार गर्दै ममताले आत्महत्या गरेको दाबी गरेका थिए। सरकारी वकिलले भने भट्टले नै ममताको हत्या गरेर शव लुकाएको जिकिर गरेका थिए। जुरीले सरकारी पक्षको तर्क स्वीकार गर्दै उनलाई हत्यामा दोषी ठहर गरेको हो।
ममता हराएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले आरा, रगतजस्तो देखिने दाग, कपालका अंश, विद्युतीय विवरण तथा फोहोर फाल्ने स्थानसँग सम्बन्धित प्रमाण प्रस्तुत गरेको थियो। आरामा भेटिएका नमुनाको डीएनए ममताको डीएनएसँग मेल खाने प्रमाणसमेत सुनुवाइमा प्रस्तुत गरिएको थियो। यद्यपि, अनुसन्धानका क्रममा ममताको शव फेला परेको छैन। शव बरामद नभए पनि अन्य प्रमाणका आधारमा जुरीले भट्टलाई दोषी ठहर गरेको हो।
सन् २०२४ अगस्टमा ममता हराएको घटना सार्वजनिक भएपछि भट्ट पक्राउ परेका थिए।