यी स्थानमा वर्षा र हिमपातको सम्भावना
धनगढी: देशका हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली हुने भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, बिहानपख तराईका भू–भाग, उपत्यका तथा खोँचहरूका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।