भारतमा बस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु
नयाँदिल्लीः भारतको पूर्वी राज्य असममा शुक्रबार यात्रुवाहक बस र कन्टेनर ट्रक आपसमा ठोक्किँदा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटना असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जनजिकैको राजमार्गमा भएको हो। उक्त सडक खण्ड वन्यजन्तुको आवतजावतका लागि छुट्याइएको मार्गमा पर्ने भएकाले यहाँ सवारीसाधनको गति सीमासम्बन्धी कडा नियम लागू गरिएको छ।
स्थानीय प्रहरी प्रमुख स्वप्निल डेकाले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताए। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस ठूलो क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ । आफ्ना प्रियजन गुमाएका प्रत्येक परिवारप्रति मेरो गहिरो समवेदना छ।”
भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयका अनुसार सन् २०२५ मा देशभर सडक दुर्घटनामा एक लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। यो दैनिक औसत पाँच सयभन्दा बढी हो। सरकारी तथ्यांकअनुसार कमजोर सडक पूर्वाधार, उचित मर्मतसम्भार नगरिएका सवारीसाधन र चालकको अत्यधिक थकान सडक दुर्घटनाका प्रमुख कारण हुन्।