सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक सुधारको आधार: शिक्षकको आत्मसम्मान, विद्यार्थीको मनोबल र अभिभावकको भरोसा

२०८३ कार्तिक २८, ११:४५

अहिले अधिकांश शिक्षक विभिन्न प्रक्रियाबाट विद्यालयमा प्रवेश गरी लामो समयदेखि निजी स्रोत, करार र राहतजस्ता कोटामा कार्यरत छन्। उनीहरूलाई अहिले विद्यालय छोडेर जाऊ भन्दा न कतै अर्को रोजगारी पाउने अवस्था छ, न अन्य कुनै पेसा व्यवसाय गरेर जीविकोपार्जन गर्न सक्ने स्थिति। किनकि उनीहरूले आफ्नो जीवनको ऊर्जावान समय शिक्षण पेसामै खर्चिएका छन्। तर उपलब्धि भने शून्यप्रायः छ। कतिपयले त वर्षौंदेखि आफ्नो पारिश्रमिकसमेत पाएका छैनन्।

यही कारण उनीहरूमा कामप्रतिको उत्साह घट्दै गएको छ। न आफ्नो ज्ञानको दायरा बढाउन सकिरहेका छन्, न त विद्यार्थीलाई आवश्यक ज्ञान दिन सकिरहेका छन्। अहिले कतिपय पालिकाले नगर शिक्षकका रूपमा यस्ता शिक्षकको व्यवस्थापन गर्दै आए पनि अधिकांश ठाउँमा उनीहरूको उचित व्यवस्थापन हुन सकेको छैन। शिक्षकहरू अब आफ्नो भविष्य के हुने हो भन्ने चिन्तामा छन्। यही कारण शिक्षा क्षेत्रसमेत कमजोर बन्दै गएको छ।

अर्कोतर्फ स्थायी शिक्षकले पनि आफ्नो पेसामा आत्मसम्मान खोजिरहेको अवस्था छ। समाजले शिक्षकलाई हेर्ने दृष्टिकोण, राज्यले दिने सेवा सुविधा र पेसागत गरिमाका विषयमा प्रश्न उठिरहेका छन्। शिक्षकको सामाजिक सम्मान र राज्यबाट प्राप्त हुने सेवा सुविधा सामान्य निजामती कर्मचारीको तुलनामा समेत कमजोर रहेको गुनासो सुनिन्छ।

शिक्षकको आत्मसम्मान
हाम्रा शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति होइनन्। उनीहरू विद्यार्थीको भविष्य निर्माण गर्ने मार्गदर्शक हुन्। एउटा शिक्षकले कक्षाकोठामा दिने ज्ञानसँगै विद्यार्थीमा अनुशासन, नैतिकता, सिर्जनशीलता, सकारात्मक सोच र सामाजिक जिम्मेवारीको विकास गरिरहेका हुन्छन्। तर शिक्षकको भूमिका जति महत्त्वपूर्ण छ, समाजमा उनीहरूको सम्मान र पेसागत सुरक्षाको विषय पनि त्यति नै महत्त्वपूर्ण हुनुपर्छ।

समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक बन्न सकेको छैन। कतिपय अवस्थामा माध्यमिक तहका शिक्षकलाई प्रशासनतर्फका सामान्य कर्मचारीले समेत आदेश दिने र निर्देशन गर्ने प्रवृत्ति देखिन्छ। शिक्षकलाई सधैँ शङ्काको दृष्टिले हेर्ने, अनावश्यक दबाब दिने, राजनीतिक प्रभाव पार्ने र उनीहरूको पेसागत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रवृत्तिले शिक्षण वातावरण कमजोर बनाउँछ।

शिक्षकलाई सम्मानित महसुस गराउने वातावरण, नियमित तालिम, उचित पारिश्रमिक, पेसागत स्वतन्त्रता र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्ने प्रणाली आवश्यक छ। शिक्षकको आत्मसम्मान जोगिएको अवस्थामा मात्र उनीहरू आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध, सिर्जनशील र उत्तरदायी बन्न सक्छन्। यसको अर्थ शिक्षकलाई आलोचनाभन्दा माथि राख्नु होइन। शिक्षकको सम्मानसँगै उनीहरूको जवाफदेहिता र शिक्षण गुणस्तर पनि सुनिश्चित हुनुपर्छ।

विद्यार्थीको मनोबल
शिक्षा प्रणालीको केन्द्रबिन्दु विद्यार्थी हुन्। विद्यालयको वास्तविक सफलता कति विद्यार्थी भर्ना भए, कति उत्तीर्ण भए वा कति प्रतिशत नतिजा आयो भन्ने तथ्याङ्कले मात्र निर्धारण गर्दैन। विद्यार्थीले कति सिके, कति बुझ्ने भए, आफ्नो क्षमता पहिचान गर्न सके कि सकेनन्, प्राविधिक ज्ञानसहितको शिक्षा प्राप्त गरे कि गरेनन् र भविष्यप्रति कति आत्मविश्वासी बने भन्ने कुराले शिक्षाको वास्तविक गुणस्तर देखाउँछ।

हाम्रो समाजमा अझै पनि परीक्षाको अङ्क र प्रमाणपत्रलाई विद्यार्थीको क्षमताको मुख्य मापदण्ड मान्ने चलन व्यापक छ। राम्रो अङ्क ल्याउने विद्यार्थीलाई प्रशंसा गर्ने तर अपेक्षित नतिजा ल्याउन नसक्ने विद्यार्थीलाई कमजोर ठान्ने र बेवास्ता गर्ने सोचले धेरै विद्यार्थीको आत्मविश्वास कमजोर बनाएको छ।

हरेक विद्यार्थीको रुचि, प्रतिभा र सिक्ने क्षमता फरक–फरक हुन्छ। कसैले शैक्षिक क्षेत्रमा राम्रो गर्न सक्छ, कसैले प्राविधिक सीपमा, कसैले खेलकुदमा त कसैले कला, साहित्य र उद्यमशीलतामा आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ। त्यसैले विद्यार्थीलाई डर देखाउने, दबाब दिने र अरूसँग तुलना गर्ने वातावरणबाट मुक्त गरी प्रश्न गर्न, गल्तीबाट सिक्न, नयाँ कुरा सोच्न र आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने वातावरण दिनुपर्छ।

विद्यार्थीलाई असफलताबाट निराश बनाउने होइन, असफलताबाट सिकेर अगाडि बढ्न सक्ने मनोबल प्रदान गर्नु आजको शिक्षाको आवश्यकता हो। विद्यार्थीको मनोबल बलियो भए मात्र उनीहरू भविष्यका चुनौती सामना गर्न सक्षम हुन्छन्।

अभिभावकको भरोसा
बालबालिकाको पहिलो पाठशाला घर हो भने विद्यालय उनीहरूको औपचारिक शिक्षा र सामाजिक विकासको महत्त्वपूर्ण केन्द्र हो। घरबाट सिकाइको सुरुवात हुन्छ भने विद्यालयले त्यसलाई औपचारिक र व्यवस्थित बनाउँछ। त्यसैले बालबालिकाको समग्र विकासमा शिक्षक र अभिभावक दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ।

तर कतिपय अवस्थामा विद्यालय र अभिभावकबीच अपेक्षित समन्वय देखिँदैन। विद्यालयले अभिभावकलाई शुल्क तिर्ने व्यक्तिका रूपमा मात्र बुझ्ने हो भने शिक्षाको उद्देश्य पूरा हुन सक्दैन। अभिभावकले विद्यालयप्रति भरोसा गर्न सक्ने वातावरण निर्माण गर्नु विद्यालयको दायित्व हो। विद्यालयमा हुने शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ उपलब्धि, आर्थिक पारदर्शिता, शिक्षकको व्यवहार, अनुशासन र व्यवस्थापनका विषयमा अभिभावकलाई नियमित जानकारी दिनुपर्छ।

त्यस्तै अभिभावकले पनि विद्यालयका हरेक विषयमा केवल आलोचना गर्नुभन्दा रचनात्मक सुझाव दिने, आफ्ना छोराछोरी के गर्दैछन्, नियमित कक्षामा आउँछन् कि आउँदैनन् भन्ने विषयमा चासो राख्ने र बालबालिकाको सिकाइमा सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ। शिक्षकसँग संवाद र सहकार्य गर्ने बानी बसाल्नुपर्छ।

जब अभिभावकले विद्यालयलाई विश्वास गर्छन् र विद्यार्थीले घर तथा विद्यालय दुवै ठाउँमा सकारात्मक वातावरण प्राप्त गर्छन्, तब मात्र शिक्षाको जग बलियो हुन्छ।

तीन पक्षबीचको सहकार्यबाट मात्र सम्भव छ शैक्षिक सुधार
शिक्षक, विद्यार्थी र अभिभावकलाई अलगअलग पक्षका रूपमा हेरेर शिक्षा क्षेत्रको सुधार सम्भव छैन। यी तीनै पक्ष एकअर्काका परिपूरक हुन्। शिक्षक सम्मानित भएनन् भने उनीहरूको कार्यक्षमता र उत्साह कमजोर हुन्छ। विद्यार्थीको मनोबल कमजोर भयो भने सिकाइप्रतिको रुचि घट्न सक्छ। अभिभावकको भरोसा कमजोर भयो भने विद्यालय र समुदायबीचको सम्बन्ध प्रभावित हुन सक्छ।

त्यसैले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक छ। विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने, शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिने र विद्यार्थीलाई जीवनोपयोगी सीपसँग जोड्ने नीति तथा कार्यक्रम अगाडि बढाउनुपर्छ।

विशेषगरी हाम्रो जस्तो रोजगारी र अवसरको खोजीमा ठूलो सङ्ख्यामा युवा बाहिरिनुपर्ने अवस्था भएको समाजमा शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित राख्नु हुँदैन। शिक्षा जीवन, श्रम, सीप, उत्पादन र उद्यमशीलतासँग जोडिनुपर्छ।

शिक्षा क्षेत्रको विकास कुनै एक व्यक्ति, एउटा विद्यालय वा सरकारको एकल प्रयासबाट मात्र सम्भव हुँदैन। यसका लागि सबै सरोकारवालाको साझा जिम्मेवारी र प्रतिबद्धता आवश्यक छ। हामीले विद्यालयको भौतिक संरचना निर्माणमा जति ध्यान दिएका छौँ, त्यति नै ध्यान शैक्षिक वातावरण निर्माणमा पनि दिनुपर्छ। भवन ठूला भएर मात्र विद्यालय राम्रो हुँदैन, विद्यार्थीको सिकाइ राम्रो र समयसापेक्ष हुनुपर्छ। शिक्षकको सङ्ख्या बढेर मात्र शिक्षा गुणस्तरीय हुँदैन, उनीहरूको क्षमता र आत्मविश्वास पनि बढ्नुपर्छ। विद्यार्थी विद्यालय पुगेको मात्र पर्याप्त हुँदैन, उनीहरूमा सिक्ने उत्साह र भविष्यप्रतिको विश्वास जाग्नुपर्छ।

नेपालको संविधान, शिक्षा ऐन, अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनले शिक्षाको पहुँच, गुणस्तर, शिक्षक व्यवस्थापन र अभिभावक सहभागिताका लागि स्पष्ट नीतिगत आधार तयार गरेका छन्। तर कानुन र नीति निर्माण हुनु मात्र पर्याप्त हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ। अब स्थानीय सरकारले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षकको पेसागत सम्मान, विद्यार्थीको मनोसामाजिक अवस्था, सिकाइ उपलब्धि र अभिभावकको सहभागितालाई समेत शैक्षिक सुधारका सूचक बनाउनुपर्छ। शिक्षा क्षेत्रमा भएको बजेट खर्चको विवरण मात्र होइन, त्यसले विद्यार्थीको सिकाइ र भविष्यमा पारेको प्रभावसमेत मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्छ।

अन्ततः शिक्षकको आत्मसम्मानले शिक्षणलाई ऊर्जा दिन्छ, विद्यार्थीको मनोबलले सिकाइलाई गति दिन्छ र अभिभावकको भरोसाले विद्यालयलाई बलियो बनाउँछ। यी तीन आधारलाई एकै ठाउँमा जोड्न सक्नु नै गुणस्तरीय शिक्षा र समुन्नत समाज निर्माणको वास्तविक सुरुवात हो।

जोशीपुर–७, कैलालीका जोशी कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति हुन्।

कमेन्ट लोड गर्नुस