बडीमालिकाको पर्यटन विकासका लागि ‘बाँडे घोषणापत्र’ जारी, एकवर्ष नि:शुल्क जिप
बाजुरा: बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकाको पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका लागि बुढीनन्दा नगरपालिकाले ११ बुँदे ‘बाँडे घोषणापत्र, २०८३’ जारी गरेको छ ।
बुढीनन्दा नगरपालिकाद्वारा आयोजित पोरखे–बडीमालिका बाँडे बेसक्याम्प पहिचान तथा प्रवर्द्धन पदयात्राका क्रममा बाँडेमा आयोजित छलफल तथा नगर कार्यपालिकाको बैठकबाट घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा पोरखे–बडीमालिका पदमार्गलाई व्यवस्थित र सुरक्षित बनाउने, बाँडे–दिउडा पाटनसम्म सडक पहुँच विस्तारका लागि पहल गर्ने तथा बाँडेलाई व्यवस्थित पर्यटकीय बेसक्याम्पका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै, पर्यटकका लागि आवास, खानेपानी, शौचालय, सूचना केन्द्र, विश्रामस्थल तथा उद्धार र प्राथमिक उपचार सेवाको व्यवस्था गर्ने उल्लेख छ । स्थानीय होमस्टे, खानाका परिकार, भेडापालन, ऊनजन्य उत्पादन तथा घोडा र खच्चड सेवामार्फत स्थानीय रोजगारी र आयआर्जन बढाउने लक्ष्यसमेत राखिएको छ ।
घोषणापत्रको महत्त्वपूर्ण कार्यक्रमअन्तर्गत नगरपालिकाले एक वर्षसम्म कोल्टीदेखि फूलचढाउने क्षेत्रसम्म निःशुल्क पर्यटनमैत्री जीप सेवा सञ्चालन गर्ने भएको छ । यसले बडीमालिका जाने पर्यटक तथा तीर्थयात्रीको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।
यसैगरी, बाँडे क्षेत्रमा राष्ट्रियस्तरको योग शिविर तथा पर्यटन सम्मेलन आयोजना गर्ने, बडीमालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने र रारा–खप्तड–बडीमालिका पर्यटन सर्किटसँग जोड्ने पहल गरिने घोषणापत्रमा उल्लेख छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, जैविक विविधताको सुरक्षा र प्लास्टिकमुक्त क्षेत्र कायम गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।
बडीमालिका क्षेत्रको विकासका लागि स्थानीय सरकार, निजीक्षेत्र, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य गर्दै घोषणापत्रमा समेटिएका कार्यक्रम कार्ययोजनामार्फत कार्यान्वयन गर्ने जनाइएको छ ।
‘पोरखेबाट बडीमालिका जोडौँ, बाँडेलाई पर्यटनको आधार बनाऔँ’ भन्ने नारासहित जारी घोषणापत्रले बडीमालिकाको धार्मिक, प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई स्थानीय समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ ।