सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलाडीको भविष्य सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

२०८३ कार्तिक २८, ०३:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीको प्रतिभा पहिचान, प्रोत्साहन र भविष्य सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरेर मात्र नपुग्ने भन्दै उनले खेल पूर्वाधार, दक्ष प्रशिक्षक, वैज्ञानिक प्रशिक्षण प्रणाली र खेलाडीको सुरक्षामा समेत राज्यले ध्यान दिनुपर्ने बताएका हुन्।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले खेलकुद राष्ट्रको पहिचान, युवाशक्तिको क्षमता र कलाकौशल प्रदर्शन गर्ने महत्वपूर्ण माध्यम भएको बताए। खेलकुदले अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

सुदूरपश्चिम खेलकुदको अपार सम्भावना भएको प्रदेश भए पनि पर्याप्त खेलमैदान, आधुनिक पूर्वाधार, आवश्यक खेल सामग्री र दक्ष प्रशिक्षकको अभाव रहेको उनले स्वीकार गरे। यस्ता चुनौतीका बाबजुद प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउने प्रतिभावान् खेलाडी उत्पादन गर्नु गौरवको विषय भएको उनले बताए।

हिमाल, पहाड र तराईमा रहेका प्रतिभालाई उचित अवसर, प्रशिक्षण, प्रोत्साहन र रोजगारीको व्यवस्था गर्न सके सुदूरपश्चिमले राष्ट्रिय खेलकुद क्षेत्रमा अझ महत्वपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री भट्टको भनाइ छ।

खेलाडीको क्षमता अभिवृद्धिसँगै उनीहरूको स्वास्थ्य, सुरक्षा र मानसिक सशक्तीकरणमा पनि ध्यान दिनुपर्ने उनले बताए। खेलाडीले प्राप्त गरेका पदक र सम्मानलाई प्रोत्साहन गर्ने तथा पुरस्कृत गर्ने प्रक्रियामा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

खेलकुदलाई वार्षिक प्रतियोगिता र औपचारिक कार्यक्रममा मात्र सीमित नराखी विद्यालय तहदेखि नै खेलकुद संस्कृतिको विकास गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय तहमा खेलकुद गतिविधि विस्तार गर्दै प्रदेशस्तरमा व्यवस्थित खेलकुद संरचना निर्माण गर्नुपर्ने उनले बताए।

सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमालको आधार शिविरमा समेत क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तह, खेलकुद संघसंस्था, निजी क्षेत्र र खेलप्रेमी सबैको साझा प्रयास आवश्यक रहेको बताए।

खेलकुदमा पदक जित्नु महत्वपूर्ण भए पनि अनुशासन, इमानदारिता, खेलभावना र निरन्तर मेहनत अझ महत्वपूर्ण हुने उनले बताए। खेलाडीले व्यक्तिगत सफलतासँगै प्रदेशको गौरव र राष्ट्रिय पहिचानलाई समेत ध्यानमा राखेर उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको आग्रह थियो।

'तपाईंहरूको सफलतामा सुदूरपश्चिमको गौरव, शान, मान र पहिचान जोडिएको छ,' मुख्यमन्त्री भट्टले भने, 'सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई आत्मविश्वासका साथ आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न अनुरोध गर्दछु।'

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ।

कमेन्ट लोड गर्नुस