सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडीकेदारमा ५ मंसिरदेखि मेला, प्रदेशकै प्रमुख गन्तव्य बनाउने लक्ष्य

२०८३ कार्तिक २८, ०४:५३ खबर संवाददाता

धनगढीः डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीकेदार धाममा आगामी मंसिर ५ गतेदेखि तीनदिने धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। 

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार मेलामा कार्तिक शुक्ल त्रयोदशीको राति विशेष धार्मिक कार्यक्रम हुने र चतुर्दशीका दिन बिहान बडीकेदारको पवित्र शिलामा पूजाअर्चना गरिनेछ। मेलाका अवसरमा विभिन्न क्षेत्रबाट देवताका देउरा तथा भाँकीसहित श्रद्धालुहरू धाम पुग्ने धार्मिक परम्परा छ। रातभर डेउडा खेल्ने, नाचगान गर्ने तथा भजनकीर्तनसहित पूजाआजा गर्ने कार्यक्रमसमेत सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिए। 

समुद्री सतहबाट दुई हजार ५९१ मिटरको उचाइमा रहेको बडीकेदार धामलाई भगवान् शिवको पवित्र तीर्थस्थलका रूपमा लिने गरिन्छ। त्यहाँ मूर्तिको सट्टा ठूलो पवित्र शिलालाई शिवलिङ्गका रूपमा पूजा गर्ने परम्परा छ। अध्यक्षका बमका अनुसार दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण वर्षेनी ठूलो सङ्ख्यामा भक्तजन यहाँ पुग्ने गरेका छन्।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बडीकेदार धामलाई प्रदेशकै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा विकास गर्नुपर्ने बताएका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको सो क्षेत्रको विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको बताए। प्रदेशका महत्वपूर्ण धार्मिकस्थलको गुरुयोजना तयार गरी बजेट विनियोजनमार्फत विकास निर्माणका काम अघि बढाइने मुख्यमन्त्री भट्टले बताए। 

धनगढीबाट भीमदत्त राजमार्ग हुँदै सहजपुर, बीपीनगर, र अत्तरकाँडा भएर करिब ११६ किलोमिटर सडक यात्रापछि बडीकेदार पुग्न सकिन्छ। अत्तरकाँडाबाट भने करिब दुई घण्टा पैदल उकालो हिँड्नुपर्छ। धामसम्म पुग्ने बाटोमा अहिले पक्की सिँढीसमेत निर्माण गरिएको छ। धार्मिक पर्यटनको प्रवर्द्धन र भक्तजनको सहभागिता बढाउने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा सहभागी हुन आयोजकले सबै श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस