सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेट्रोल छर्केर आगो लगाइएका चौधरीको उपचारका क्रममा मृत्यु

२०८३ कार्तिक २९, ०९:२० खबर संवाददाता

बुटवल: दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरीको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो। शनिबार दिउँसो राजपुर गाउँपालिका–२ खालगैरामा सोही ठाउँका ३८ वर्षीय त्रिलोक सिंह कार्कीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका कार्कीलाई प्रहरीले खोजतलासका क्रममा लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो। आगोले जलेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल लमही अस्पताल पु¥याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। घटनामा संलग्न आरोपित कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस