मंसिर ४ गते डडेल्धुरामा प्रसिद्ध बडाल जाँत लाग्ने
डडेल्धुरा: सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराको पहिचान बोकेको डडेल्धुराको प्रसिद्ध बडाल जाँत आगामी मंसिर ४ गते लाग्ने भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा मंसिर ३ गते राति रतेडी र ४ गते दिउँसो मुख्य मेला अर्थात् दिउसेडी आयोजना गरिने भएको छ।
लाटागन्याप देवताको भक्तिस्वरूप चौलो खेलिने बडाल जाँत परम्परागत बाजागाजा, ढालतरबार नाच र धार्मिक विधिका कारण सुदूरपश्चिममै विशेष महत्त्व राख्ने मेलाका रूपमा परिचित छ। मेलामा भोक्कर, देवलका भाला, गुर्जा, खुकुरी तथा तरबार प्रदर्शन गर्दै चौलो खेल्ने परम्परा रहिआएको छ।
शुक्ल नवमीको राति देवताको पूजा गरी जाग्राम बस्ने र भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। दाइन, दमाहा, रुइसिंग र भोक्करलगायत परम्परागत बाजाको तालमा ढालतरबार खेल्दै चौलो नाच्ने तथा गाँज नचाउने धार्मिक-सांस्कृतिक परम्परासँगै जाँत सम्पन्न हुने गर्छ।
बडाल जाँतमा आसपासका विभिन्न गाउँबाट देउरो ल्याउने चलनसमेत छ। कुजाकोट, रुमायल, बडाल र थप्साललगायतका स्थानबाट देउरो ल्याइने भए पनि मुख्य देउरो भने मालीगाउँबाट ल्याउने परम्परा रहेको छ।
ढालतरबारसहित खेलिने चौलो बडाल जाँतको मुख्य आकर्षण हो। धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै मेलाले स्थानीय उत्पादनको व्यापार र बजारीकरणमा समेत योगदान पुर्याउँदै आएको छ। मेलामा स्थानीयस्तरमा उत्पादित हस्तकलाका सामग्री तथा कृषि उपजको किनबेच र साटासाट हुने गरेको गन्यापधुरा गाउँपालिकाले जनाएकाे छ।
बडाल जाँतले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ।