सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको रघुनाथ माविलाई चैतन्य पाठशालाले गर्‍यो २७२ जोडी पोसाक सहयोग

२०८३ कार्तिक ३०, ०२:०६ खबर संवाददाता

धनगढीः चैतन्य पाठशाला धनगढीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित रघुनाथ माध्यमिक विद्यालयलाई २७२ जोडी विद्यार्थी पोसाक सहयोग गरेको छ। चैतन्य शैक्षिक जागरण अभियानअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालय पोसाक प्रदान गरिएको हो।

धनगढीस्थित चैतन्य पाठशालामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर धर्मदेव भट्टले रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुन मगरलाई पोसाक हस्तान्तरण गरेका हुन्। पोसाक हस्तान्तरण कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले विद्यालयले चैतन्य शैक्षिक जागरण अभियान सञ्चालन गर्दै आएको बताए।

पोसाक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक डाक्टर धर्मदेव भट्टले चैतन्य पाठशालाले चैतन्य शैक्षिक जागरण अभियान नै चलाएर शिक्षाको क्षेत्रमा अनुकरणीय काम गरेको बताए। चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले चैतन्य पाठशालाले समाजमा चेतना फैलाउने काम गर्दै आएको स्मरण गर्दै सामाजिक उत्तरदायित्व स्वरुप रघुनाथ माध्यमिक विद्यालय जोरायल डोटीलाई सानो सहयोग गरेको बताए। 

रघुनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनमगरले चैतन्य पाठशालाले गरेको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने बताए। 

कमेन्ट लोड गर्नुस