खेलौना, सौन्दर्य सामग्रीदेखि कपडासम्म स्वास्थ्य बिगार्ने रसायन
दैनिक उपभोगका वस्तुमा पाइने हर्मोन प्रणालीमा अवरोध पुर्याउने रसायनले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यस्ता रसायनबाट हुने क्षति वार्षिक एक खर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।
इडिसी नामले चिनिने यस्ता रसायनले शरीरको विकास र कार्यप्रणाली नियमन गर्ने हर्मोनमा हस्तक्षेप गर्छन् । खेलौना, सौन्दर्य सामग्री, कपडा तथा निर्माण सामग्रीलगायत दैनिक प्रयोगका वस्तुमा ती रसायन पाइन्छन् । प्रतिवेदनले विद्यमान नियमहरू असमान र अपर्याप्त रहेको औँल्याउँदै इडिसी मानव तथा वातावरणीय स्वास्थ्यका लागि बढ्दो खतरा भएको जनाएको छ ।
चौध वर्षपछि सार्वजनिक भएको यससम्बन्धी विस्तृत प्रतिवेदनमा बिस्फेनोल, थ्यालेट्स र प्याराबेन्सलगायत रसायनका हजारौँ अध्ययन समीक्षा गरिएको छ । ती रसायनको सम्पर्क र स्नायुसम्बन्धी समस्या, प्रजनन क्षमता तथा शुक्रकीटको सङ्ख्यामा गिरावटबीच बलियो सम्बन्ध देखिएको छ । टाइप–२ मधुमेह र दमजस्ता रोगसँगको सम्बन्धबारे पनि प्रमाण बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।
प्रतिवेदनकी सहलेखक तथा म्यासाचुसेट्स एम्हस्र्ट विश्वविद्यालयकी प्राध्यापक लौरा भ्यान्डेनबर्गले इडिसीसम्बन्धी वैज्ञानिक प्रमाण स्पष्ट र बलियो रहेको बताएकी छन् । उनका अनुसार यस्ता रसायन सर्वत्र पाइने र थोरै मात्राको सम्पर्कले समेत स्वास्थ्यमा असर पार्न सक्ने भएकाले जोखिम गम्भीर बनेको हो ।
रसायन उत्पादन तथा प्लास्टिक पुनः प्रशोधन उद्योगका श्रमिकहरू यसको उच्च जोखिममा छन् । सन् २०२४ मा थाइल्यान्ड र केन्याका प्लास्टिक फोहोर तथा पुनः प्रशोधन क्षेत्रमा कार्यरत श्रमिकमाथि गरिएको अध्ययनमा उनीहरू २० भन्दा बढी हानिकारक रसायनको सम्पर्कमा रहेको पाइएको थियो । कार्यालयमा काम गर्ने व्यक्तिहरू पनि कम्तीमा ११ प्रकारका रसायनको सम्पर्कमा रहेको अध्ययनले देखाएको थियो ।
हालसम्म करिब एक हजार प्रकारका इडिसी पहिचान भए पनि धेरैको पर्याप्त परीक्षण भएको छैन । एकैपटक विभिन्न रसायनको सम्पर्कमा पर्दा तिनको संयुक्त प्रभावले स्वास्थ्य जोखिम बढाउन सक्ने चिन्ता पनि वैज्ञानिकहरूले व्यक्त गरेका छन् । अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका प्राध्यापक फ्रेडरिक ल्युस्चले जोखिमको सुरक्षित सीमा अझै स्पष्ट नभए पनि मानव स्वास्थ्य र वातावरणको सुरक्षाका लागि रसायनको सम्पर्क घटाउन आवश्यक रहेको बताएका छन् ।
धेरै देशले विशेषगरी बालबालिकाका सामग्रीमा प्रयोग हुने बिस्फेनोल एलगायत केही रसायनमाथि नियन्त्रण गरेका छन् । तर कुन रसायनलाई नियमन गर्ने र सुरक्षित सम्पर्क सीमा कति निर्धारण गर्ने भन्ने विषयमा चुनौती कायमै छ । अधिकांश इडिसीको सुरक्षित सीमा पहिचान नभएको विज्ञहरूको भनाइ छ ।
प्लास्टिकमा पनि यस्ता रसायन पाइने भएकाले यसको उत्पादन विस्तार रोक्नुपर्ने प्रतिवेदनकी सहलेखक तथा स्ट्यानफोर्ड विश्वविद्यालयकी प्राध्यापक ट्रेसी वुड्रफले बताएकी छन् । उनले रसायनको सम्पर्क घटाउन र हानिकारक गतिविधिमा संलग्न पक्षमाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै थप अनुसन्धानको प्रतीक्षा नगरी उपलब्ध प्रमाणका आधारमा कदम चाल्नुपर्नेमा जोड दिएकी छन् ।