धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल विकास कार्यक्रम
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले १६ स्थानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकास गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको कार्यक्रमको शनिबार धनगढी रंगशालामा उद्घाटन गरिएको छ।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गरेका छन्। उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमाल, नगर उपप्रमुख, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी खेलाडीहरूले कार्यक्रमलाई खेल उत्सवका रूपमा लिएका थिए। मुख्यमन्त्री भट्टले कार्यक्रमकाे उद्घाटन प्रशिक्षक तथा खेलाडीलाई फुटबल दिएर गरिएको थियो।
धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच भएको सम्झौताअनुसार नगरका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा कार्यक्रम सञ्चालन गरिनेछ। सम्झौतापत्रमा नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका थिए।
कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्क खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान र वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदानमा प्रशिक्षण सञ्चालन हुनेछ।
त्यस्तै, वडा नम्बर ७ को पटेला खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालय, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालय, वडा नम्बर १२ को मनकामना युवा क्लब, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदानमा पनि कार्यक्रम सञ्चालन गरिनेछ।
यसैगरी वडा नम्बर १४ को टाउन प्लानिङ खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम तथा वडा नम्बर १९ को आइ गाउँको खेल मैदानलाई कार्यक्रममा समेटिएको छ।
धनगढी उपमहानगरपालिकाले विगतदेखि नै ग्रासरुट खेलकुद विकासलाई प्राथमिकता दिँदै आएको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ग्रासरुट क्रिकेट कार्यक्रम सञ्चालन गरेको थियो। आर्थिक वर्ष २०८०/८१ मा चार स्थान र २०८१/८२ मा पनि चार स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिएको थियो। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा १२ स्थानमा कार्यक्रम विस्तार गरिएको थियो।
उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा खाली रहेका सार्वजनिक जग्गाको उपयोग गर्दै हालसम्म २१ स्थानमा खेल मैदान निर्माण गरेको जनाएको छ।
स्थानीय स्तरमै फुटबल खेलको जग बलियो बनाउने, बालबालिका तथा युवालाई प्रारम्भिक चरणदेखि नै प्रशिक्षणको अवसर प्रदान गर्ने र विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिको केन्द्र बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।