सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

२०८३ मंसिर ६, ०९:३४ रासस

काठमाडौँ: १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनलाई जोड दिएको छ।

नेपाल भौगर्भिक समाजद्धारा यहाँ आयोजित तिन दिने उक्त सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा गहन मन्थन भएको समाजका अध्यक्ष अध्यक्ष भास्कर खतिवडाले जानकारी दिए।

सम्मेलनका क्रममा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ, नीति तथा पेशागत अभ्यासलगायत विषयमा वैज्ञानिक छलफल भएको थियो। समाजका अनुसार, नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागीता रहेको सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायतका विषयमा केन्द्रित भइ अध्ययन तथा अनुसन्धान प्रस्तुती गरियो।

सम्मेलनमा उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन विषयमा केन्द्रित रही छलफल भएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिए। उनका अनुसार सम्मेलनका क्रममा विषयबस्तु केन्द्रित सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति र ५८ वटा पोस्टर प्रस्तुति समावेश गरिएको थियो।

सम्मेलनमा सहभागीले बहुविषयगत अनुसन्धान, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिएको महासचिव बास्कोटाले जानकारी दिए। सम्मेलनले हिमालयन तथा पर्वतीय भूविज्ञान क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न तथा अनुसन्धानका क्षेत्रमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय र सहयोग बढाउन सुझाव दिएको छ।

कमेन्ट लोड गर्नुस