सुदूर नेपाललाई विश्वसँग जोड्दै

राइजिङ स्टार्स एसिया कपमा यूएईमाथि नेपालको ६ विकेटको शानदार जित

२०८३ मंसिर ६, ०५:१९ खबर संवाददाता

धनगढी: राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको छ ।

कतारको दोहामा आइतबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ५७ रन बनाए । उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, मयन यादवले २७, बसिर अहमदले अविजित १८ र पवन सर्राफले अविजित ९ रनको योगदान दिए ।

नेपालका अर्जुन कुमाल ५ र देव खनाल शून्य रनमा आउट भए । यूएईका मोहम्मद मोहसिनले २ तथा उद्धिश सुरी र अन्स टन्डनले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमै अलआउट भएको थियो । यूएईका लागि मोहम्मद शाहदादले ४० र हरप्रित सिंहले ३२ रन बनाए । नुरुल्लाह अयोबीले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान ३ विकेट लिए । लामिछानेले १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिँदा भुर्तेलले ५ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे । यस्तै, ललित राजवंशी, राशिद खान र नन्दन यादवले समान एक विकेट लिए ।

बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले यूएईमाथि सहज जित निकाल्दै प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेको छ ।

कमेन्ट लोड गर्नुस