सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाप्लामा अन्तर्राष्ट्रिय मैदानको जग बस्दै, पहिलोचरणमा हुँदैछन् यी काम

२०८३ मंसिर ७, १०:३१ खबर संवाददाता

धनगढीः ‘क्रिकेटको सहर’ का रूपमा परिचित कैलालीको धनगढीसहित सिङ्गै सुदूरपश्चिम प्रदेशमा स्तरीय खेल मैदानको अभाव छ। क्रिकेट खेलाडी उत्पादनमा अग्रणी मानिने यस प्रदेशमा पर्याप्त पूर्वाधार नहुँदा खेलाडी तथा क्रिकेटप्रेमीले लामो समयदेखि समस्या भोग्दै आएका छन्। तर, अब भने सुदूरपश्चिमको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने दशकौँदेखिको सपना साकार हुने दिशामा अघि बढेको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पहिलो चरणको काम अघि बढ्ने भएको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय, धनगढीले रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै लामो समयदेखि चर्चामा रहेको आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। यसले सुदूरपश्चिमका क्रिकेटप्रेमीमा उत्साह थपेको छ।

करिब साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ। पहिलो चरणमा मैदानको विद्यमान जमिनमा माटो भर्ने, जमिन सम्याउने र प्यारापिटको अगाडिको भागमा ब्लक निर्माण गर्नेलगायतका काम गरिनेछ।

पहिलो चरणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तुलसीराम खरभुजाका अनुसार उक्त बजेटबाट मूल्यवृद्धि र भ्याटलगायतका रकम कटौती गरेपछि करिब १८ करोड रुपैयाँ निर्माण कार्यमा खर्च हुनेछ।

पहिलो चरणमा रङ्गशाला निर्माण हुने क्षेत्रका रूख हटाएर करिब डेढ मिटर माटो भरिनेछ। त्यसपछि मैदान सम्याउने र ग्राउन्डको चारैतर्फ माटो भरेर ढलान अर्थात् स्लोप निर्माण गरिनेछ। यसले दर्शकलाई मैदानको वरिपरि बसेर खेल अवलोकन गर्न सहज बनाउनेछ।

रङ्गशालामा प्रस्तावित १३ वटा प्यारापिट ब्लकमध्ये पहिलो चरणमा एउटा मात्रै ब्लक निर्माण गरिने प्रमुख खरभुजाले बताए। उक्त ब्लकमा करिब दुई हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ। उनका अनुसार पहिलो चरणको बजेट तीन वर्षका लागि विनियोजन गरिएको हो। निर्माण कार्य अघि बढ्दै जाँदा थप बजेट आवश्यक परेमा सरकारले उपलब्ध गराउन सक्ने उनले जानकारी दिए।


फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सपना आजको होइन। धनगढीमा क्रिकेटको व्यावसायिक विकास र प्रवर्द्धनका लागि २०६६ सालदेखि सुरु भएका प्रयासले नै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अवधारणालाई जन्म दिएको थियो। एसपीए कप, धनगढी क्रिकेट लिग र धनगढी प्रिमियर लिग (डीपीएल) जस्ता प्रतियोगिताले धनगढीमा क्रिकेटको लोकप्रियता बढाउँदै लगेका थिए।

२०७१ सालमा फाप्लालाई अस्थायी क्रिकेट मैदानका रूपमा पहिचान गरिएको थियो। त्यसको एक वर्षपछि अर्थात् २०७२ सालदेखि फाप्लालाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्ने उद्देश्यसहित ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो।

आर्थिक वर्ष २०७२/७३ को संघीय बजेटमा समेत फाप्ला रङ्गशाला निर्माणको विषय समेटिएको थियो। तर, जग्गा प्राप्ति हुन नसक्दा आयोजना अघि बढ्न सकेन। लामो समयसम्म प्रशासनिक तथा प्रक्रियागत उल्झनमा परेको आयोजनाले २०७८ माघ २४ गते नयाँ मोड लियो। उक्त दिन नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आयोजना कार्यान्वयनका लागि विकास समिति गठन गर्ने निर्णय गरेको थियो।

२०७९ वैशाख २६ गते नेपाल राजपत्रमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठन आदेश प्रकाशित भयो। सोही वर्ष जग्गा प्राप्ति प्रक्रिया अघि बढेको थियो भने जेठ २३ गते अभियानका नेतृत्वकर्ता सुवास शाहीलाई विकास समितिको अध्यक्षमा मनोनीत गरिएको थियो।

सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने घोषणा गरेको छ। त्यसका लागि फाप्ला मैदानलाई आगामी तीन वर्षभित्र फ्लडलाइटसहित तयार गर्ने लक्ष्य राखिएको छ। रङ्गशाला निर्माण सम्पन्न भएपछि धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसले सुदूरपश्चिमको खेलकुद पूर्वाधार विकाससँगै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शाहीका अनुसार नेपाली क्रिकेटको व्यावसायिक विकासमा धनगढीको योगदान महत्त्वपूर्ण रहँदै आएको छ। खेलाडीको लिलामीमा आधारित फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको अभ्यासदेखि क्रिकेटलाई व्यावसायिक मनोरञ्जन र आर्थिक गतिविधिसँग जोड्ने प्रयासमा धनगढीले अग्रणी भूमिका खेलेको उनले बताए।

अब फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणले गति लिने अपेक्षासँगै सुदूरपश्चिमको क्रिकेट विकासले नयाँ उचाइ लिने विश्वास गरिएको छ। दशकौँदेखिको सपना पूरा हुने दिशामा अघि बढेसँगै यस क्षेत्रका खेलाडी, क्रिकेटप्रेमी र सरोकारवालामा नयाँ आशा पलाएको छ।

कमेन्ट लोड गर्नुस