सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुँदै
धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा आज पेसी तोकिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासमा मंगलबार मुद्दाको सुनुवाइ हुने भएको हो। यसअघि अदालतले मुद्दामा प्रमाण बुझ्ने आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले सार्वजनिक पदमा रहँदा स्रोत नखुलेको एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। आयोगले सोही रकमलाई बिगो कायम गरी २०८२ जेठ १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारको अनुसन्धानमा उक्त अवधिमा सोडारीको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती तथा छोराछोरीको पारिश्रमिक र सामाजिक सुरक्षा भत्तालगायतबाट ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा आम्दानी भएको देखिएको छ। तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन, छोराको विवाह, सेयर लगानी र निर्वाचन खर्चलगायत शीर्षकमा एक करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ खर्च भएको आयोगको दाबी छ।
आम्दानीभन्दा खर्च एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ बढी देखिएकाले उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ।