सुदूर नेपाललाई विश्वसँग जोड्दै

 ‘आरोही उद्यमी मेला’ले बजारसँग जोड्यो महिला उद्यमीलाई

२०८३ मंसिर १०, ०९:४७ खबर संवाददाता

धनगढीः महिला उद्यमीले उत्पादन गरेका स्थानीय तथा परम्परागत वस्तुको बजारीकरण र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा आयोजित ‘आरोही उद्यमी मेला’ले महिला उद्यमीलाई बजारसँग जोड्न सहयोग पुगेको छ। मंसिर ८ र ९ गते सञ्चालन भएको दुईदिने मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको थियो। मेलामा मह, झोला, हस्तकलाका सामग्री, खाद्य वस्तु तथा स्थानीय उत्पादनका करिब ३० वटा स्टल राखिएका थिए।

मेलाले महिला उद्यमीलाई आफ्ना उत्पादनको पहिचान स्थापित गर्न, सम्भावित ग्राहकसँग जोडिन तथा नयाँ बजारको खोजी गर्न अवसर प्रदान गरेको आयोजकले जनाएको छ। मेलामा सहभागी उद्यमीहरूले उत्पादनको प्रचारप्रसार, बिक्री तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुगेको बताएका छन्।

स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता मेला प्रभावकारी हुने र महिला उद्यमीलाई व्यवसाय विस्तार तथा आत्मनिर्भर बन्न प्रोत्साहन मिल्ने उनीहरूको भनाइ छ। 

मेलासँगै ‘आरोही सुदूरपश्चिम समूह’को छ महिने मेन्टरसिप कार्यक्रमसमेत समापन गरिएको छ। ‘मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिलाको उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत महिला उद्यमीलाई अनुभवी मेन्टरसँग जोडेर व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक सञ्जाल विस्तारका अवसर प्रदान गरिएको थियो।

गोदावरीकी टीकादेवी डगौराले महिला उद्यमीलाई व्यवसाय विस्तार तथा आत्मनिर्भर बन्न प्रोत्साहन मिलेको बताइन्। धनगढीको मनहेराकी रामसुन्दरी चौधरीले सम्भावित ग्राहकसँग जोडिन तथा नयाँ बजारको खोजी गर्न अवसर प्रदान गरेको बताइन्। फिनल्यान्डको परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालित मेला तथा कार्यक्रम एफडब्लुइएन नेपाल, नेपाल युवा उद्यमी मञ्च, यूएन वुमन, मुक्त कमैया महिला विकास मञ्च, निड्स नेपाल र एकीकृत विकास समाजलगायत संस्थाको साझेदारीमा आयोजना गरिएको हो।

कमेन्ट लोड गर्नुस