सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम दसौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नवौँ, जित्यो नौ पदक

२०८३ मंसिर १३, ११:४८

धनगढीः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले हालसम्म नौ पदक जितेको छ। जारी प्रतियोगितामा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेको सुदूरपश्चिम पदक तालिकाको नवौँ स्थानमा रहेको छ।

हालसम्मको पदक तालिकामा बागमती प्रदेश १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदकसहित शीर्ष स्थानमा छ। गैरआवासीय नेपाली सङ्घ एनआरएन १२ स्वर्णसहित दोस्रो स्थानमा रहँदा त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ। आर्मीले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक जितेको छ।

नेपाल पुलिस क्लब आठ स्वर्णसहित चौथो स्थानमा रहँदा गण्डकी र कोशी प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन्। सशस्त्र प्रहरी बल सातौँ तथा लुम्बिनी प्रदेश आठौँ स्थानमा छन्। मधेस प्रदेशले दुई कास्य पदक जितेको छ भने सहआयोजक कर्णाली प्रदेश अहिलेसम्म पदकविहीन छ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्।

कमेन्ट लोड गर्नुस