सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका गौशालाः छाडा गाईको व्यवस्थापन, दूध र गोबरबाट आम्दानी

२०८३ मंसिर १३, १२:१७ लक्ष्मण ढुङ्गाल

धनगढीः सडक तथा बजार क्षेत्रमा छाडा छाडिएका गाईवस्तुको व्यवस्थापन गर्न स्थापना गरिएका धनगढीका गौशालामार्फत आम्दानी गर्न थालिएको छ। कुनै समय छाडा चौपायालाई आश्रय दिने उद्देश्यले सञ्चालनमा आएका गौशालाहरूले अहिले गाईबाट प्राप्त दूध, गोबर, गहुँतलगायतका वस्तुको उपयोग गर्दै आर्थिक गतिविधि अघि बढाउन थालेका हुन्।

गाईको धार्मिक तथा सांस्कृतिक महत्वसँगै कृषि क्षेत्रमा जैविक मलको माग बढ्दै जाँदा गौशालाहरूले संरक्षणलाई आर्थिक आत्मनिर्भरतासँग जोड्ने प्रयास गरिरहेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौशालाले गाईको संरक्षणसँगै गोबर मल, दूध र गौदानलगायतका गतिविधिबाट आम्दानी गरिरहेको छ। गौशालामा रहेका गाईको पालनपोषणका लागि दाताहरूबाट मासिक आर्थिक सहयोगसमेत संकलन हुने गरेको छ।

दाताको सहयोग र गौशालाबाट हुने आम्दानी गरी मासिक डेढ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइरहेको गौशालाकी महासचिव रीता अवस्थीले जानकारी दिइन्। यसले गाईको आहार, व्यवस्थापन तथा कर्मचारीको तलब खर्च धान्न सहयोग पुगेको उनको भनाइ छ। 

धनगढीको रामपुरस्थित इस्कोन गौशालाले पनि गाईको संरक्षणसँगै व्यावसायिक उपयोग गर्ने योजना बनाएको छ। धार्मिक तथा पितृकार्यका लागि गाईको आवश्यकता पर्ने परम्पराले गौशालालाई केही आर्थिक सहयोग पुगेको छ। अब गोबरबाट कम्पोस्ट मल, दियो र धूप उत्पादन गर्ने तयारी भइरहेको गौशाला समितिका अध्यक्ष यज्ञ गौपदासले बताए। किसानले खेतबारीमा प्रयोग गर्ने जैविक मललाई विभिन्न प्रविधिमार्फत गुणस्तरीय रूपमा उत्पादन गरी सर्वसाधारणसम्म सहज पहुँच पुर्‍याउने गौशालाको लक्ष्य छ। यसबाट गौशालाको आम्दानी बढाउनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यता, धनगढीको फूलबारी गौशालाले भने दूध उत्पादनलाई प्राथमिकता दिएको छ। करिब चार सय गाई रहेको उक्त गौशालाबाट दूध संकलन गरी बजारमा बिक्री तथा वितरण हुँदै आएको छ। आगामी दिनमा प्रविधिको प्रयोग गरेर गोबरबाट गुणस्तरीय मल उत्पादन गर्ने योजना रहेको गौशालाका अध्यक्ष यादव भण्डारीले बताए। समुदायमा गाईपालन गर्ने क्रम घट्दै जाँदा दूध, दहीलगायतकाको उपलब्धतामा समेत समस्या हुन थालेको अवस्थामा गौशालाले त्यसको आपूर्तिमा सहयोग पुर्‍याएको उनको भनाइ छ।

धनगढी उपमहानगरपालिकाको संरक्षण तथा समन्वयमा सञ्चालित गौशालाहरूले गाई व्यवस्थापनसंगै आम्दानीका थप स्रोत पहिचान गरिरहेका छन्। गौशालाबाट हुने आम्दानीले दैनिक सञ्चालन खर्च र कर्मचारीको तलब व्यवस्थापनमा समेत सहयोग पुगेको छ। यसले छाडा चौपाया व्यवस्थापनको जिम्मेवारीलाई आर्थिक गतिविधिसँग जोड्ने सम्भावना देखाएको छ। 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस