कैलाली कारागारका कैदी वन्दीमा सरुवा रोगको संक्रमण फैलिदैं (भिडियो सहित)
क्षमताभन्दा तेब्बर वढि कैदीवन्दी राखिदाको असर
कैदीवन्दी व्यवस्थापनका लागि कैलाली कारागार कार्यालयमा निर्माण हुने भनिएको नयाँ भवनको टुङगो लाग्ने सकेको छैन् । कारागार व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा गत वर्ष पुषमा प्रदेश नम्बर ७ का कारागारको अनुगमनमा आएको टोलीले कैलाली कारागारको स्तरोन्नति तथा भवन निर्माणका लागि ५० लाख बजेट वीनियोजन भइसकेकाले चालु वर्षभित्र काम सुरु हुने जनाएको थियो । तर हाल सम्म भवन निर्माण हुने विषयको टुङ्गो लाग्न नसकेको हो । बजेट बिनियोजन भईसक्दा समेत कैलाली जिल्ला कारागारले भवन निमार्णको प्रक्रिया सुरु गर्न सकेको छैन । कारागारका निमित्त जेलर भक्तबहादुर विष्टले भवन निर्माण हुने भनिएपनि हालसम्म बजेट प्राप्त नभएको बताउदै टेण्डर समेत नभएको जनाए । भवन अभावमा कैलाली कारागार कार्यालयले वषौँदेखी कैदीबन्दी व्यवस्थापनमा जटिलता खेप्दै आएको छ ।
१ सय ५० जना कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पनि क्षमता भन्दा दोब्बर बढि ३ सय ८८ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई अहिले टीनको छानो, टेन्ट तथा भान्छाकोठामा बसोबासको व्यवस्था मिलाईएको छ । चिसो मौसममा कोचाकोच गरी जसोतसो रातदीन कटाउदै आएका कैदीबन्दीहरु बढ्दै गएको गर्मीमा विभिन्न खालका रोगको संक्रमणको चपेटामा परेका छन् । सिअहेव समेत रहेका कारागार कार्यालयका निमित्त जेलर भक्त विष्टले गर्मी बढेपछि कैदीबन्दीमा छालाको रोगको संक्रमण फैलिएको बताए । उनले विगतमा दैनिक १०\१५ जना कैदीको उपचार गर्दै आएकोमा अहिले उक्त संख्या २५\३० पुगेको बताए । प्रदेश ७ का अन्य कारागारबाट पनि विरामी कैदीबन्दीलाई उपचारका लागि कैलाली नै पठाउने गरिएको छ । जसले गर्दा विरामी कैदीबन्दीको संख्या बढि हुदा उपचारमा समस्या हुने गरेको छ ।
कारागार व्यवस्थापन विभागले हरेक वर्ष औषधी उपचार खर्च शिर्षकमा बजेट त पठाउने गरेको छ तर त्यो बजेटले कैदीबन्दीको उपचार नभ्याउने गरेको कारागार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा पनि कैदीबन्दीको औषधी उपचार खर्च शीर्षकमा कारागार व्यवस्थापन विभागले ६ लाख बजेट पठाएको थियो त्यो बजेट कम परेपछि थप बजेटको माग गरिएको कारागार कार्यालय कैलालीका लेखापाल जनकबहादुर सिहले जानकारी दिए । एकातीर भवन अभावमा कोचाकोच गरी दैनिकी कटाउनुपर्ने बाध्यता र अर्कोतीर विरामी परेको बेला समेत पर्याप्त औषधी उपलब्ध नहुदा कैदीबन्दी झनै समस्यामा पर्ने गरेका छन् । कैदीबन्दीहरुमा जटिल खालको स्वास्थ्य समस्या देखिएमा बाहिर नीजि स्वास्थ्य संस्थामा मात्र उपचार गर्न पाउने व्यवस्था छ ।