अण्डा खाँदा मुटु रोगको खतरा न्यून
दैनिक एउटा अण्डा खानाले मुटु रोगको खतरा कम हुने एक अध्ययनले देखाएको छ । चीनमा ४ लाख वयस्क मानिसमा गरिएको अध्ययनमा यस्तो देखिएको हो । दैनिक एक अण्डा खानेमा मुटुजन्य रोग (हृदयाघात तथा स्ट्रोक) बाट मृत्यु हुने खतरा १८ प्रतिशत कम हुने तथ्य हर्ट जर्नलमा प्रकाशित गरिएको छ । सामान्य भाषामा मुटुरोग भनिने रोगमा हर्ट फेल, मुटुको भल्भको समस्या तथा हृदयाघातलगायत पर्छन् । उच्च रक्तचाप, अति मोटोपना, ब्लड सुुगरको तह बढ्नेलगायतका समस्याहरु अस्वस्थकर खाना, शारीरिक सक्रियताको कमी र मदिरा सेवनबाट निम्तने विशेषज्ञको भनाइ छ ।विगतमा चिकित्सकहरु नै बिरामीलाई धेरै अण्डा खान नहुने सल्लाह दिन्थे । अण्डामा उच्चमात्रामा प्रोटीन र अन्य पोषक तत्व हुन्छन् । यसका साथै उच्चमात्रामा कोलेस्टेरोल हुने भएकाले यसलाई हानिकारक मानिन्थ्यो ।
बेइजिङस्थित पेकिङ युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक कान्किङ युका अनुसार विगतमा गरिएका अध्ययनमा प्राप्त मुटुरोग र अण्डाबीचको सम्बन्धबारेका तथ्य विवादास्पद थिए । किनभने सीमित सूचना र थोरै नमूनामा अध्ययन गरिएका हुन्थे। यहीकारण उनीहरुले चीनका १० क्षेत्रका करिब ५ लाख जनसंख्यामा अध्ययन गरेका हुन्। उनीहरुले क्यान्सर, मुटुरोग तथा मधुमेह नभएका ४ लाख १६हजार २ सय २३ मानिसलाई अध्ययनमा सामेल गराएका थिए । तीमध्ये ३० देखि ७९ वर्ष उमेर समूहका १३ प्रतिशत मानिसले दिनको एउटा अण्डा खाने गरेका थिए । अध्ययनकर्ताहरुले ती मानिसको स्वास्थ्यको ९ वर्षसम्म निगरानी गरेका थिए र तिनीहरुलाई हृदयाघात, स्ट्रोकलगायत हुन्छ कि हुँदैंन भनेर केन्द्रित भएका थिए । चीनमा मुटुुरोग मृत्युको प्रमुख कारण हो । मुटु रोगबाट प्रभावित आधाको मृत्यु हुने गरेको छ ।
अध्ययनमा सामेल गराइएकामध्ये ९ हजार ९ सय ८५ मानिसको मृत्यु मुुटुु रोगका कारण भएको पाइएको थियो भने ८४ हजार मानिसमा कुनै न कुनै खालका मुटुरोग भएको पाइयो। यो तथ्यांक विश्लेषण गरेर अनुसन्धानकर्ताहरुले दैनिक एक अण्डा खानेमा मुटुरोगको खतरा कम हुने निष्कर्ष निकालेका हुन् । यसअनुसार दैनिक एक अण्डा खानेमा हेमोर्या्जिक स्ट्रोक हुने खतरा २६ प्रतिशतले कम भएको पाइएको थियो ।