के विवाहितहरु बढी खुसी हुन्छन् ?
के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ ? यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका प्रश्नले तपाईंको दिमागमा घर जमाएको हुनसक्छ।
अनलाइन डेटिङले तपाईंलाई थप आकर्षक देखाउन सक्ला ?
के आफ्नो साथीले चाहेको जसरी आफूलाई ढाल्नु ठिक हो ?
के विवाहितहरु बढी खुसी हुन्छन् ?
एउटै साथीसँग जीवन बिताउने बचन तपाईंका लागि सही हो त ?
यी प्रश्नको जवाफ तपाईंका लागि चकित पारिदिने किसिमको हुनसक्छ। बीबीसीले एक अनुसन्धानको आधारमा यी प्रश्नको जवाफ खोज्ने कोसिस गरेको छ।
‘मेरो टाइपको केटा वा केटी’
प्रविधिको दुनियाँमा अनलाइन डेटिङको चलन बढ्दो छ। आज मानिसहरु इन्टरनेटमा नै पार्टनरको खोजी गर्न रुचाउँछन्। तर लाखौं मानिसबीच आफू कस्तो देखिने हुँ भन्ने पिरले तपाईंलाई सताएको हुनसक्छ। तर, चिन्ता नलिनुहोस् । तपाईं जब कुनै नयाँ तस्बिर हेर्नुहुन्छ त्यो तपाईंको अघिल्लो तस्बिरभन्दा राम्रो देखिन्छ।
अर्थात्, सुन्दरताको विषयमा हाम्रो धारणा परिवर्तन भइरहन्छ। डेटिङ एपमा परिवर्तन भइरहने तस्बिरले हाम्रो सुन्दरताको मानकलाई निरन्तर परिवर्तन गरिरहेको हुन्छ। यदि तपाईंलाई सुन्दर मानिसहरुको प्रोफाइल हेरेर हिनताबोध भइरहेको छ भने त्यसलाई मनबाट निकाल्नुहोस्। किनभने यो अस्थायी हो, स्थायी होइन।
धेरैपटक मानिसहरु एक झट्कामा नै कुनै तस्बिरमा फिदा हुन्छन्। त्यसकारण यस्तो मौका तपाईंका लागि पनि आउन सक्छ। हामी जुन अनुहार कम देख्छौं त्यो नै हामीलाई सबैभन्दा आकर्षक लाग्छ। मनोवैज्ञानिकका अनुसार हामी जुन अनुहारलाई सररर्ती हेरेर अघि बढ्छौं थुप्रै पटक त्यसलाई पुनः हेर्न मन लाग्छ। यसको पछाडि एउटा मनोविज्ञान छ र त्यो हो कतै हामीले आफ्नो सम्भावित साथीलाई छुटायौं कि ?
विपरितले सधैं आकर्षित गर्दैनः
केही विशेष बानी हुन्छन् जुन दुबै साथीमा भए राम्रो मानिन्छ। ‘विपरितले आकर्षित गर्छ’ यो भनाई निकै पुरानो हो र गलत पनि। पार्टनरबीच जति नै भिन्नता भएपछि कुनै पनि कुरामा सहमत हुने बानी मिल्नुपर्छ। अत्यधिक रिस उठाउने बानी आखिर कसलाई राम्रो लाग्छ र ? जो व्यक्ति आफूलाई अस्विकार गरिने हो कि भन्ने कुरामा बढी चिन्तित हुन्छन्, त्यस्ता व्यक्तिले जब आफ्नै सोचाईको पार्टनर पाउँछ भने उनीहरुबीचको सम्बन्ध निकै प्रगाढ हुन्छ।
यदि पार्टनरको राती अबेरसम्म जागा हुने र बिहान चाँडै उठ्ने बानी छ भने यो पनि सम्बन्धको सकारात्मक पक्ष हो। यसले उनीहरुलाई धेरैजसो सँगै राख्न सहयोग गर्छ। तर, दुबैको एउटै बानीले कहिलेकाँही समस्या पनि निम्त्याउन सक्छ । यदि कोही व्यक्ति काम प्रति धेरै नै समर्पित छन् र उनका साथीको पनि त्यस्तै बानी छ भने यसले कुरा बिगार्न सक्छ। यस्तोमा यदि एउटा साथी बिन्दास भए दुईको जोडी मिल्छ।
विवाहले खुसी बढाउँछ तर....
यदि तपाईं र तपाईंको जीवनसाथीको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने तपाईंको सम्बन्ध निकै राम्रो हुनसक्छ। तर यसले तपाईंको खुसीसँग के सम्बन्ध राख्छ ? विवाहले हाम्रो व्यक्तित्वमा स्थायी परिवर्तन ल्याइदिन्छ। यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । चार वर्षसम्म १५ हजार जर्मन जनतासँग गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार विवाहपछि मानिसहरुमा खुल्लापन र बाहिरी घुमफिर कम हुन्छ।
हो, विवाहपछि मानिसहरुमा माफी दिनका लागि फराकिलो मन हुन्छ। उनीहरु आफूलाई नियन्त्रण गर्न सिक्छन्। लामो समयसम्म कसैसँग बलियो सम्बन्ध बनाउनका लागि यो अत्यन्त महत्वपूर्ण विशेषता हो। विवाहपछि केही दिनसम्म मानिसहरु सन्तुष्ट र खुसी देखिन्छन् । तर यो भाव स्थायी हुँदैन । विवाहको केही वर्षपछि उनीहरु पुनः त्यहि स्थितीमा पुग्छन् जहाँ विवाहअघि थिए। त्यसकारण विवाहले स्थायी खुसी दिँदैन।
साथीसँग छुट्टिदाँको असरः
जो व्यक्ति लामो वैवाहिक सम्बन्धमा थिए, उनीहरुले सम्बन्धविच्छेदपछि ठूलै परिवर्तन देखाउँछन्। अधवैंसे मानिसहरुमाथि गरिएको अनुसन्धानमा पत्ता लागे अनुसार सम्बन्धविच्छेद पछि महिलामा खुल्लापन आउँछ।
तर पुरुषले भने ब्रेकअपलाई राम्रोसँग ह्यान्डल गर्न सक्दैनन्। उनीहरु सम्बन्धविच्छेद पछि सनकी हुन्छन्। सम्बन्धविच्छेदपछि महिला होस् वा पुरुष दुबै कम विश्वासिला हुन्छन्। सम्बन्धविच्छेदपछि तपाईं आफूलाई कसरी सम्हाल्नुहुन्छ यो कुरा तपाईंको व्यक्तित्वमा भर पर्छ । जो व्यक्ति बर्हिमुखी हुन्छन्, उनीहरु चाँडै नै दोस्रो विवाह गर्छन्। तर जसलाई सम्बन्धविच्छेदले सनकी बनाएको छ, उनीहरु अस्थायी सम्बन्ध बनाउँछन् । स्थायी सम्बन्ध बनाउन उनीहरुलाई समस्या हुन्छ।
रोमान्सयुक्त भविष्यः
कुनै एक साथीसँग जीवन बिताउनु हरेक समाजमा आदर्श मानिन्छ। तर नयाँ जमानाको चलन भने भिन्न छ, अहिले एकै समयमा धेरैसँग सम्बन्ध बनाउने प्रचलन छ। यो धोका होइन। कुनै सम्बन्धमा संलग्न मानिसहरु एक–अर्काको अनुमतीमा नै एकभन्दा बढी मानिससँग सम्बन्ध बनाउँछन्।
अनुसन्धानमा पत्ता लागेअनुसार यस्ता जोडीहरुबीच बलियो मित्रता हुन्छ । एक अनलाइन सर्वेक्षण अनुसार यस्ता जोडीहरु सुरक्षित यौन सम्बन्ध स्थापित गर्छन्। तर, तपाईं एकैसाथ थुप्रै सम्बन्धमा हुनुहुन्न भने निराश नहुनुहोस्। तपाईंले यसो गरेर कुनै पनि कुरा गुमाइरहनुभएको छैन। जो व्यक्ति एकैपटक थुप्रै रोमान्टिक सम्बन्ध स्थापित गर्छन् भने थप सम्बन्धका लागि खुल्ला हुन्छन् (मित्रतासहित)।
यस्तो जो मानिसहरु एउटा साथीसँग मात्र समर्पित छन् भने उनीहरुको केही क्षती भइरहेको छैन। एक साथीप्रति समर्पणले पनि तपाईं त्यति नै खुसी दिइरहेको हुन्छ। -मार्था हेनरिक्स/ बीबीसी फ्युचर