यस कारण हुन्छ युरिक एसिड
शरीरमा युरिक एसिडको मात्रा पत्ता लगाउन रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए त्यसलाई सामान्य मानिन्छ। तर, रगतमा एसिडको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा हाइपरयुरिसेमिया भएको मानिन्छ।
लक्षण
कतिपय अवस्थामा हाइपरयुरिसेमियाको अवस्थामा समेत जोर्नी दुख्ने र सुन्निने हुँदैन। तर, बिस्तारै जोर्नीवरपरको मासु र कार्टिलेजमा युरिक एसिड जम्मा हुन थालेपछि भने दुख्ने/सुन्निने हुन्छ। यो अवस्थालाई गाउटी अर्थराइटिस भनिन्छ।
ढाड र जोर्नी दुख्ने, जाम हुने र हातखुट्टा झमझमाउनेलाई युरिक एसिड भएको भन्ने आमधारणा छ, जुन गलत हो।
वास्तवमा यस्ता लक्षणलाई युरिक एसिड भएको मान्न सकिँदैन। तर, बिहान उठ्दा बुढी औँला दुख्ने, सुन्निने तथा हिँड्न अप्ठ्यारो हुने युरिक एसिडका लक्षण हुन्। यसबाहेक कुर्कुच्चा, घुँडा, कुहिना र औँलाका जोर्नीमा दुखाइ हुन सक्छ।
त्यस्तै, कतिपयमा युरिक एसिडको दुखाइका कारण जोर्नीमा संक्रमण भई पिप जमेको जस्तो हुन सक्छ।
कारण र रोकथाम
शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ। तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ। यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ। जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निकाल्छ।
रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनिर र भिन्डीलगायत पदार्थको मात्रा बढी हुँदासमेत युरिक एसिड बढ्ने गर्छ। त्यस्तै, यस्ता खानेकुरा ठिक्क मात्रामा खानुपर्छ।
दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ। त्यस्तै, जबर्जस्ती कसरत र तौल कम गर्दा समेत युरिक एसिड हुन्छ। उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ, यस्ता चिजबाट बच्न आवश्यक हुन्छ।
युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्ने/सुन्निने कम गर्ने औषधिको सेवन गर्नुपर्छ । तर, युरिक एसिड कम गर्ने औषधि जथाभावी भने खानुहुँदैन। जसले रगतमा युरिक एसिडको मात्रा अचानक घट्छ। अनि, जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भई झन् दुखाइ बढ्न सक्छ।