पोर्चुगलमा तीन नेपालीको मृत्यु
पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ। पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ। थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स–परिवार पोर्चुगल बस्दै आएका थिए।
यसैगरी डिसेम्बर ८ का दिन नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको निधन भएलगत्तै गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल गएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको थियो।
ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ। उनको शव जोजेजु आकिम फेर्नान्दिस अस्पताल बेजामा राखिएको छ। शव परीक्षण रिपोर्टमा अत्यधिक मद्यपानका कारण बान्ता गर्दा श्वासप्रश्वास नली बन्द भई अक्सिजनको कमी हुँदा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै प्रवासी नेपाली एकता मञ्चका सदस्य नारायण शर्माले बताए।