सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भावस्थामा किन कब्जियत हुन्छ ? कसरी पाउने त छुटकारा ?

२०७६ माघ २, १२:०४ खबर संवाददाता

गर्भावस्थामा कब्जियत हुनु साझा समस्या हो। कब्जियतकै कारण उनीहरुले निकै सास्ती भोगिरहेका हुन्छन। दिसा गर्न मन भएपनि गाह्रो हुन्छ। यसले गर्भवतीलाई मानसिक चिन्ता समेत बढाउन सक्छ, जबकी यसबेला चिन्तामुक्त हुनुपर्ने हुन्छ। यद्यपी केहि काइदा छन, जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ।
किन हुन्छ त कब्जियत ?
१) प्रेग्नेन्सी हर्मोन प्रोजेस्टीरोनले पाचन यन्त्रबाट खाना पचाउने प्रक्रिया सुस्त गराइदिन्छ।

२) गर्भावस्थाको सुरुमा खानपानमा परिवर्तन हुनु।

३) गर्भावस्थाको अन्तिम चरणमा मलायशयमा गर्भको दबाव बढ्छ।

४) गर्भावस्थामा आइरन चक्की सेवन गरिन्छ, यो पनि कब्जियतको कारण बन्छ।

के गर्ने ?

गर्भावस्थामा कब्जियतबाट छुटकारा पाउन एउटै उपाय छ, खानपान र जीवनशैलीमा परिवर्तन।

१) हरेक पटक फाइबरयुक्त भोजन गरौ । हरियो सागपात, राजमा, ताजा फल फाइबरको स्रोत हो। गाजर, फूलगोभीमा उच्च मात्रामा फाइबर पाइन्छ । यद्यपी फाइबरयुक्त खानेकुरा लिइसकेपछि पर्याप्त पानी सेवन गर्नुपर्छ, नभए त्यसले थप कब्जियत बढाउँछ।

२) चाउचाउ लगायतका रिफाइन्ड भोजन, सेतो ब्रेड, पुरी, नान, केक बिस्कुट सेवन नगरौ। मैदाजन्य परिकार कब्जियतको एउटा कारण हो।

३) पर्याप्त पानी पिउने, कम्तिमा दिनमा आठदेखि १२ गिलाससम्म। ताजा फलको रस, नरिवल पानी, कागती पानी, लस्सी जस्ता पेय लिन सकिन्छ। बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गर्दा मलत्याग गर्न सजिलो हुन्छ। 

४) कब्जियतको अर्को कारण हो, शारीरिक निश्क्रियता। सजिलो र हल्का व्यायाम गर्नुपर्छ, बिहान बेलुकी हिँड्नुपर्छ। यद्यपी थकित हुनेगरी व्यायाम गर्नु हुँदैन।

के गर्भावस्थामा कब्जियत हुनु गंभिर हो?

कतिलाई यसले निकै दुख दिन्छ। यदि कब्जियत निरन्तर रहिरह्यो भने चिकित्सकको परामर्श लिनैपर्छ। किनभने कब्जियतले कहिले कहिं निम्न समस्या निम्त्याउँछ।

– मलत्याग गर्न बल गर्नुपर्ने हुन्छ। यसले पाइल्सको समस्या निम्त्याउन सक्छ।

– एनल फिशरको समस्या आउन सक्छ । मलत्याग गर्नमा एकदमै कठिन हुनसक्छ। रगत आउन सक्छ।

यी दुबै समस्यामा उपचार क्रिम र मलहम लगाउन सकिन्छ। चिकित्सकलाई यस्तो क्रिमको बारेमा सोधौ, जसको प्रयोग गर्भावस्थामा सुरक्षित हुन्छ। बच्चा जन्माइसकेपछि कब्जियतको समस्या आफै ठीक हुन्छ।
 

कमेन्ट लोड गर्नुस