भुलेर पनि नखानुस् सुपारी, यी रोगहरु निम्तिन सक्छ
खाना खाएपछि सुपारी चपाउने बानी प्राय जसोको हुन सक्छ। सुपारी मात्र नभएर सुपारीबाट बनेका कुराहरू गुट्का, पराग, मधु आदि सेवन गर्ने धेरैको बानी हुन्छ। मानिसले थाहा पाएर होस् या नपाएर यसको सेवन गरिरहेका हुन्छन्।
मानिसमा सुपारीले खाना पचाउँछ भन्ने भ्रम पनि हुन सक्छ। तर, सुपारीको सेवन स्वास्थ्यको लागि त्यति राम्रो भने मानिँदैन। यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू ल्याउने गर्छ। यसले पुर्याउने नोक्शानको बारेमा थाहा नभएको कारण मानिसहरूमा यस्ता भ्रमहरू हुने गर्छन्।
सुपारीको प्रयोगले हामीलाई धेरै असर पर्न सक्छ। सुपारीको सेवनले दाँतको समस्या निम्त्याउन सक्छ। यसको सेवनले दाँतको जरामा विभिन्न खालका समस्याहरू आउने गर्छन्। नियमित रूपमा सुपारी चपाउने गरेमा दाँत खिइने मात्र नभएर हाम्रो दाँत कमजोर हुँदै जान्छ।
सुपारी खाँदा क्यान्सर पनि हुन सक्छ। अत्यधिक मात्रामा सुपारीको सेवन गर्नाले हामीलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ। सुपारी सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्या बढ्दो छ। यस्तै यसको सेवनले मुटु रोग निम्त्याउन सक्छ। सुपारीको अत्यधिक सेवनले मोटोपना बढाउँछ। जसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ।
सुपारीको सेवनले हाम्रो मुटुमा नकारात्मक असर पुर्याउने गर्छ। मुटुमा समस्या आउनुको एउटा कारण सुपारी सेवन पनि रहेको छ। हामीले प्रयोग गर्ने औषधिले कहिलेकाहि काम नगरेको अनुभव गरेका छौं होला, यदि सुपारीको बढी प्रयोग गरेको अवस्थामा अन्य औषधि तथा हर्वलसित मिसिएमा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ।
निरन्तर सुपारीको प्रयोगले शरीरमा लत लगाउनुका साथै यसको बानी पार्छ, जुन छोड्नसमेत गाह्रो हुन्छ। त्यसैले चिकित्सकहरू सुपारी नखाने सल्लाह दिने गर्छन्।