अनि आउँछ बालबालिकाको स्वभावमा परिवर्तन
वर्तमान समयमा मानसिक तनाव गम्भीर समस्याका रूपमा देखा पर्दै छ । तर, अभिभावकले चाहिँ बालबालिकामा तनाव हुनुको कुनै विषय नै देख्दैनन् । कतिले भन्छन्, ‘उनीहरूको काम खाने र पढ्ने मात्र हो, केको तनाव ?’ जुन सोच गलत हो । अभिभावकको विभिन्न सिको गर्ने क्रममा तनाव लिन पनि सिक्छन् । घरमा आर्थिक, नातेदार आफन्त बिरामीको चिन्ता, पति–पत्नीबीचको खटपट आदिबाट बालबालिकाले तनाव लिन सिकिरहेका हुन्छन् । कतिपय कुरा बालबालिकाको मस्तिष्कले एकदमै छिटो क्याच गर्छ । जसले गर्दा उनीहरूले तनाव लिन सुरु गर्छन् ।
टेलिभिजन तथा कम्प्युटर
आजभोलि अधिकांश बालबालिकाको समय टेलिभिजन, कम्प्युटर, इन्टरनेटजस्ता प्रविधिसँग बित्ने गर्छ । जसले गर्दा घरभन्दा बाहिर गएर उनीहरू खेल्न पाउँदैनन् । यस्तो अवस्था उनीहरूको उदासीनताको कारक बन्छ ।
टेलिभिजनमा सार्वजनिक हुने, कम्प्युटरमा प्राकृतिक विपत्तिका, युद्ध, आंतकवादी गतिविधि, दुर्घटना, हिंसा, बलात्कार, अपहरण, बालयौन दुराचारजस्ता समाचारले बालबालिकाको मानसिक व्यवहारमा प्रभाव पार्ने गर्छ ।
घरको वातावरण
बालबालिकाका लागि घर सबैभन्दा पहिलो स्कुल हो । जुन घरमा आमा–बाबुबीच डिभोर्सको प्रक्रिया चलिरहेको हुन्छ, त्यस घरका बालबालिका जीवनको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेका हुन्छन् । डिभोर्सको प्रकियामा बालबालिकाले आमा वा
बाबु एकलाई रोज्नुपर्ने बाध्यता हुन्छ । यस्तो मनोदशाले उनीहरूमा व्यवहारजन्य परिवर्तन ल्याउँछ ।
इन्टरनेट
नयाँ प्रविधिले यी सब परिस्थितिलाई अझ बढी मलजल गरी मानसिक व्यवहार परिवर्तनमा बढावा दिने काम गर्छ । अचेलका बच्चा कम्प्युटरको अगाडि पत्थरको मूर्तिजस्तै घन्टौँ बसिरहन्छन् । सुरुवातमा उनीहरूको इच्छा केही कुरा सिक्ने हुन्छ । अनि बिस्तारै भिडियो गेम, साथीसँगको च्याटमा डाइभर्ट हुन्छन् । जसका कारण उनीहरू घन्टौँ इन्टरनेटमा बिताउन चाहन्छन् । यस्तो लत बालबालिकामा रोगकै रूपमा विकास हुन्छ । हालसालै बाल सरोकार नामक संस्थाले भारतमा गरेको सर्वेक्षणले हरेक तीन बच्चामध्ये एकजना किशोर मानसिक तनावबाट ग्रसित हुने देखाएको छ । बालबालिका जति बढी मोबाइल र कम्प्युटरमा व्यस्त हुन थाल्छन्, त्यति नै द्रुत गतिमा उनीहरूमा व्यवहारजन्य परिवर्तन आउँछ ।
विकृत भोजन
बालबालिकाको व्यवहारलाई खानाले पनि धेरै हदसम्म प्रभाव पार्ने गर्छ । जंकफुड, फास्टफुड अत्यधिक प्रयोग गर्ने प्रचलनले बालबालिकाको व्यवहारलाई प्रभावित पार्छ । यस्तो समस्याबाट बच्न खानामा हरियो सागसब्जी, फलफूल तथा दूध सेवनलाई बढाउनुपर्छ । नत्र बालबालिकामा अल्छीपन, मोटोपनलगायतका समस्या हुन्छ ।
अध्ययनको दबाब
बढ्दो प्रतिस्पर्धाले पनि बालबालिकाको व्यवहारमा प्रभाव पार्छ । अधिकांश बालबालिका विद्यालयबाट घर फर्कनेबित्तिकै ट्युसन वा होमवर्कमा रटिनुपर्छ । पढाइ सकिँदा रात परिसकेको हुन्छ । यस्तो गतिविधिले उनीहरूको व्यवहारमा परिवर्तन ल्याउने काम गर्छ ।
लक्षण
एकान्तमा बस्न रुचाउने, चिडाचिडापन, कसैसँग कुरा गर्न मन नपराउने, स–साना कुरामा पनि झर्किने, रिसाउने, अपशब्द प्रयोग गर्ने, ठूलालाई आदर, सम्मान नगर्ने आदि ।
सचेतता
अभिभावकले बालबालिकाको मनस्थितिलाई बुझ्ने प्रयास गर्नुपर्छ । बालबालिकाको अगाडि विवादास्पद र अभावका कुरा नगर्ने । कहिल्यै पनि अभिभावकले बालबालिकाको अगाडि लडाइँ–झगडा गर्नुहुँदैन । बालबालिकाले इन्टरनेट प्रयोग गर्दा उनीहरूको गतिविधिमा ख्याल गर्नुपर्छ ।
उनीहरूलाई जति पढ्न जरुरी छ, त्यति मात्र पढ्न प्रेरित गर्नुपर्छ । बरु उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेल वा अन्य गतिविधिमा सरिक गराउन आवश्यक हुन्छ ।
केटाकेटीको मनोव्यवहार परिवर्तन हुनुमा कुनै न कुनै कारण हुन्छ । यस्तो अवस्थामा औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ ।