सरकारबाट भरपर्दो सेवा नपाएको सिकलसेल पिडितहरुको गुनासो (भिडियो हेर्नुहोस)
कैलालीका सिकलसेल पिडितहरुले भरपर्दो सुविधा नदिएको गुनासो गरेका छन् । विश्व सिकलसेल दिवसको अवसरमा सिकलसेल नेपालद्धारा धनगढीमा आयोजित कार्यक्रममा सहभागी सिकलसेल पिडितहरुले सरकारले आफुहरुमाथि विभेद गरेको आरोप लगाएका हुन् । उपचारका लागि सरकारले दिने गरेको रकम अपुग हँुदा समस्या हुने गरेको पिडितहरुको गुनासो छ । सिकलसेल पिडितहरुले सरकारले भरपर्दो सेवा नदिएको सिकलसेल पिडित सिना रानाले गुनासो गरिन् ।
प्रभावकारी सेवा नपाउँदा धेरै गर्मी र चिसो सहन नसक्ने हँुदा कुन बेला विरामी परिन्छ पत्तो नलाग्दा थप समस्या हुने गरेको पिडितहरुको दुःखेसो छ । हाल सरकारले सिकलसेलका बिरामीलाई एक लाख बराबरको निशुल्क उपचार दिदै आएको छ । तर एक लाखको निशुल्क उपचारले नभ्याउने भएकाले विरामीहरु समस्यामा पर्ने गरेको अर्का पिडित रामदयाल चौधरीले वताए । स्थानीय सरकार गठन भएपछि स्थानीय स्तरमै उपचार सेवा पाउने आशा पनि उनीहरुमा थियो । तर जिल्लाका कुनै पनि स्थानीय तहले सिकलसेलका विरामीको उपचारका लागि गतिलो कदम चालेका छैनन् ।
अव दिनमा भने सिकलसेलका विरामीका लागि कार्यक्रम ल्याउने धनगढी उपमहानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले वताईन् । सिकलसेल रोग थारु समुदायमा मात्र देखा पर्ने रोग भनिए पनि पछिल्लो समयमा पहाडी समुदायमा पनि देखा पर्न थालेको छ । यो रोग वंशजका आधारमा एक पिढीबाट अर्को पिढीमा लाग्ने फिजिसियन डाक्टर पदमराज शर्माले जानकारी दिए । सिकलसेल विरामीहरुले चर्को गर्मी र अत्यधिक चिसोमा बस्न र काम गर्न नसकिने भएकाले पनि उनीहरुलाई समस्या हुने गरेको छ । अहिले कैलाली जिल्लामा सेती अञ्चल अस्पताल र घोडाघोडी अस्पतालमा मात्र सिकलसेल रोगको उपचार सेवा रहेको छ ।