सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको तुलसीचोक –भगवती टोल सडक निर्माणमा पनि मापदण्ड मिचियो

२०७६ फाल्गुन १९, ११:५७ जनक विष्ट

२०७३ फागुनमा ठेक्का आह्वान भई २०७४ साल ९ असारमा रोयल जेभीसँग सघन शहरी विकास कार्यक्रमको ४ नम्बर प्याकेजमा निर्माण सम्झौता गरेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा पर्ने तुलसी चोक भगवती टोल सडकमा पनि मापदण्ड मिचिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइसँग भएको ठेक्का सम्झौता अनुसार सो प्याकेजमा पर्ने तीन वटा सडक ९९ लाख ४६ हजारमा रोयल जेभीले २०७६ असारमा सम्पन्न गरी हस्तान्तरण गरेको थियो। तर सडकको बिच र दुवै छेउ रहेका रुखहरु अझै हटाईएको छैन् भने कमसल काम भएपछि सडक भत्कीन थालेपछि आवातजावतमा समस्या भएको छ।

 

 

कैलाली गाउँका यमन चौधरीले कालोपत्रे भएपनि सडकको बिचमा पर्ने रुखहरु यथावथ हुँदा दुर्घटनाको जोखिम बढेको बताए। उनले कमसल काम भएपछि सडक भत्कीन थालेको पनि बताए। ‘सडकको बिचमा रुख छ, यताबाट स्प्रीडमा गाडी आउँछ यता जाने की उता जाने काट्नै एकदम गाह्रो हुन्छ।’ उनले भने।

‘एकदुई ठाउँमा कालोपत्रे पनि फुटेको छ, खाल्डो भएको कारणले झनै दुर्घटना हुने सम्भावना बढेर गएको छ।’ शहरी विकास तथा भवन निर्माण विभागको स्वीकृत डिजाईन स्टमेट अनुसार तुलसीचोक भगवती कालोपत्रे सडकको माथिल्लो तह अथात् प्राविधिक भाषामा २० मिलिमिटर वा दुई सेन्टीमिटर थिक प्रिमिक्स कारपेट हुनुपर्ने हो। तर निर्माण व्यवसायीले भने धेरै ठाउँमा ५ मिलिमिटर मात्रै हालेको पाईएको छ भने कतिपय स्थानमा १० मिलिमिटर मात्र छ।

यस्तै नालीको भित्री भागको चौडाई ५४ सेन्टीमिटर राख्नुपर्नेमा ४४ सेन्टीमिटरको मात्रै निर्माण गरेको देखिन्छ। क्तिपय स्थानमा स्वीकृत डिजाईन स्टमेट भन्दा बढि निर्माण समाग्री समेत प्रयोग भएको पाईएको छ। जसले गर्दा निर्माण सम्पन्न भएको एक वर्ष बित्दै नपाउँदै सडक भत्कीन थालेको हो भने शहरी विकास तथा भवन निर्माण विभागको मिलेमतोमा कमसल काम गरी आर्थिक अनियमितता भएको आशंका गरिएको छ।

 

 

तर निर्माण व्यवसायीले भने सडक क्षेत्रमा पर्ने रुख नहटाईदा समस्या भएको दावी गरिरहेको छ। रोयल जेभीबाट तुलसीचोक भगवती टोल सडक निर्माणको जिम्मा लिएका टेकबहादुर मल्लले रुखका कारणले रोेलर लगाउन नपाउँदा समस्या भएको जिकिर गरे। उनले धेरै ठाउँमा सडकको एकतर्फ मात्र नाली निर्माण गर्नुपर्ने भएकाले पनि सतह नमिल्दा कालोपत्रे मजबुत नभएको दावी गरे। कतै त्रुटी पनि भएको हुनसक्ने तर हेवी सवारी साधन चलाउँदा समेत भत्कीएको उनी बताउँछन्।  

यता शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइले पनि सडकमा कमसल काम भएको विषयमा रेडिमेट जवाफ दिएको छ। ईकाइले मापदण्ड अनुसार काम भए÷नभएको हेरेर निर्माण व्यवसायीलाई सोही बमोजिम काम गर्न लगाउन दबाब दिनुपर्नेमा जसरी काम गरिएको त्यसै अनुसार भुक्तानी गरिएको दावी गरिरहेको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले नक्सा बमोजिम नभएको हकमा काम भए अनुसार नै बजेट भुक्तानी दईएको बताए। ‘कतिपय ठाउँमा नक्सा बमोजिम छैन् भने जे छ त्यही अनुसार पेमेन्ट गरेको हुन्छ।’

उनले भने,‘कालोपत्रेको हकमा फिल्डमा गरिएको काम भन्दा बढि भुक्तानी हुँदैन्।’ बुढाथोकीले भने जस्तै काम अनुसार नै बजेट भुक्तानी गरिनेछ भन्ने कुरा न डिजाईन स्टमेटमा छ न त निर्माण व्यवसायीसँग भएको सम्झौतामा नै छ। तर धनगढीमा सघन शहरी विकास कार्यक्रम अन्तरगत निर्माण भएका सडकको अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको उदासिनताले बदमासी भएको आशंका गरिएको छ। ती सडकको अनुगमन निरिक्षण गर्ने निकायले भने वेवास्ता गरेको छ। 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस