सुदूर नेपाललाई विश्वसँग जोड्दै

करोडौं लगानीमा सुविधा सम्पन्न निजि अस्पतालहरु सञ्चालन हुने क्रम वढ्दो (भिडियो रिर्पोट)

धनगढी मेडिकल हवका रुपमा विकास हुँदै 

२०७५ असार ११, १२:२३

कैलालीमा करोडौं लगानीमा सुविधा सम्पन्न निजि अस्पतालहरु सञ्चालन हुने क्रम वढिरहेको छ । विभिन्न स्वास्थ्य उपचार दिने गरी निजि क्षेत्रले स्वास्थ्यमा लगानी वढाउँदै लगेका छन । आधुनिक र सुविधा सम्पन्न निजि अस्पतालहरु खुल्न थालेपछि विरामीहरुलाई पनि राहत हुन थालेको छ । उपचारका लागि भारत जानुपर्ने र अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुन थालेको छ । यसअघि व्रेन पलायनको समस्या रहँदै आएकोमा अहिले आएर भने विशेषज्ञता हासिल गरेर आफ्नै ठाउँमा फर्किएर सम्भावना खोज्ने चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि वढिरहेका छन । चार दशकअघि अमेरिकी नागरिक डा. सिमनले सुदूरपश्चिमका ९ वटै जिल्लालाई लक्षित गरी डडेलधुरामा मिसन अस्पताल स्थापना गर्दा कैलाली कञ्चनपुरमा थारू समुदायको सीमित बस्ती थियो । जनसंख्याका दृष्टिकोणले पहाडी जिल्लाको केन्द्र डडेलधुरामा मिसन अस्पताल स्थापना भएको थियो । चार दशकयता पहाडी जिल्लाबाट बसाइ सराइ तराईमा ओइरियो । जनसंख्यासँगै तराईमा विकास निर्माणले गति लिएपछि बिस्तारै पश्चिम नेपालको मेडिकल हबका रूपमा कैलालीको धनगढी सहर विकसित हुन थालेको छ । 

हालका वर्षमा प्रदेश नम्वर ७ का ९ जिल्लाका बिरामीका लागि उपचारको पहिलो गन्तव्य कैलाली सदरमुकाम धनगढी बनेको छ । यहाँका निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालहरू बिरामीका रोजाई वनेका छन । समग्रमा, धनगढी ७ नं प्रदेशको ‘मेडिकल हव’ वन्दै गएको छ । धनगढीमा निजि क्षेत्रवाट सिपी, कैलाली, सिटी, नवजीवन, आशा, नमोबुद्ध तथा अत्तरियाका पद्मा र सेवा नर्सिङ होमले सेवा उपलब्ध गराउँदै आएकोमा आधुनिक चिकित्सा सेवा सहित निजि अस्पताल खुल्ने क्रम वढेको छ । कैलालीको धनगढीमा केही समय अगाडी निजि क्षेत्रवाट डाईलासिस सेवादिने गरी नोभा अस्पताल सञ्चालनमा आएको छ । अस्पतालमा पेट, छाती, मुटु, हाडजोर्नी, नाक, कान लगायतको स्वास्थ्योपचार सेवा दिने गरी दुई करोडको लगानीमा १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याईएको अस्पतालकी सञ्चालिका अनिता पन्तले वताईन् । 

कैलालीको गेटामा मेडिकल कलेज निर्माणसँगै सुविधायुक्त ठाउँमा कार्यरत डाक्टरहरूको धनगढीतर्फ आकर्षण बढ्न थालेको छ । निजी क्षेत्रका अस्पताल र क्लिनिक खुल्ने क्रम बढ्दो छ । धनगढीको हसनपुरमा २५ शैय्याको मल्टी स्पेशललिटी अस्पतालको रुपमा निसर्ग अस्पताल पनि सञ्चालनमा आएको छ । ५ करोडको लगानीमा केही यसै क्षेत्रमा सेवा गरिरहेका र केही अन्यत्र सेवा दिईरहेका चिकित्सकहरु धनगढी फर्किदै आधुनिक सुविधा सहितको अस्पतालले सेवा दिन सुरु गरेको हो । आईसियु, एनआईसियु, पिआईसियु, भेन्टिलेटर सहितका सेवा रहेको अस्पतालमा आधुनिक शल्यक्रिया रुप, उच्चतम प्रविधि सहितको प्याथोलोजी र ल्याव, हाडजोर्नी, दुर्विन प्रविधिवाट सर्जरी, जनरल सर्जरी, वालरोग सहितका विशेषज्ञ सेवा सस्तो मुल्यमा प्रदेशवासीलाई दिनका लागि अस्पताल सञ्चालनमा ल्याईएको हो । सुदुरपश्चिममै पहिलो मल्टी स्पेशलिटी अस्पताल मार्फत स्वास्थ्य सेवा दिन थालेको निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तले वताए । 

बढ्दो जनसंख्या, बसाइ सराइको थेगी नसक्नु चाप, पहाडी जिल्लाबाट यातायातको सहज पहुँच, सीमा क्षेत्रका भारतीय सहरको निकटता, राजधानीबाट हवाई यातायातको सहज सुविधा र पछिल्लो समय प्रदेशको अस्थायी राजधानी धनगढी बनेपछि धनगढी मेडिकलको हब बन्न थालेको हो । प्रदेशका ९ जिल्लामध्ये आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा बसोबास गर्छन् । पछिल्लो जनगणनाअनुसार २५ लाख जनसंख्यामध्ये आधा १३ लाख बढी जनसंख्या तराईका २ जिल्लामा भएकाले पनि धनगढीमा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिन थालिएको हो । धनगढी चटकपुरमा पनि माया मेट्रो हस्पिटल एक महिनाभित्र सञ्चालनमा आउने तयारी भईरहेको छ । १० करोड रुपैयाको लगानीमा आईसियु, एनआईसियु सहित वातानुकुलित डिलक्स क्याविन सेवा सहित माया मेट्रो  अस्पतालले पनि चिकित्सा क्षेत्रका नयाँ प्रविधिहरु सहित सञ्चालनमा आउन लागेको हो । ईन्डोस्कोपी, कोलोनोस्कोपी, क्यान्सर स्क्रिनिङ र सिटि स्क्यान लगायतमा सेवा पनि दिने योजना अस्पतालको छ । नेपालका बिभिन्न मेडिकल कलेज र अस्पतालमा लामो समयदेखि काम गर्दै आएका अनुभवी बिशेषज्ञ चिकित्सकहरुले आफ्नै क्षेत्रमा सेवा गर्ने उद्देश्यले यस क्षेत्रका व्यवसायीहरुसंगको सहकार्यमा अस्पताल सञ्चालनमा आउने तयारीमा रहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । 

यसअघि पलायन भएर अन्यत्र सेवा दिने चिकित्सकहरू अहिले धनगढीलाई ‘हब’ मानेर फर्किने क्रम पनि वढ्दो ।  विरामीको संख्या, विशेषज्ञहरूका लागि एक्सपोज हुने अवसर, निकट भविष्यमै सञ्चालन हुने गेटा मेडिकल कलेज र अनुसन्धानको अवसर समेत भएकाले यो क्षेत्र विशेषज्ञ चिकित्सकका लागि हव वन्न थालेपछि अन्यत्र गएका यहाँका विशेषज्ञ चिकित्सक आफ्नै ठाउँमा फर्किएर सम्भावना खोज्न थालेका हुन् । विपन्नहरूको सेवा, बिरामीको चाप र अनुसन्धानको अवसर यहाँ धेरै हुन थालेपछि आफ्नै ठाउँमा आएर स्वास्थ्य सेवा दिन चिकित्सकहरु आउन थालेको माया मेट्रो अस्पतालका एक जना सञ्चालक तथा वालरोग विशेषज्ञ डाक्टर मोहन साउँदले वताए । 
 

कमेन्ट लोड गर्नुस