‘ज्यादती’
निर्मलकुमार भण्डारी
मान्छे चन्दछ सभ्य सद्गुण हुने–सद्ज्ञनका चालमा
चल्छन मूढ मनुष्य रे कुमतिले–सामान्तका चालमा
मान्छे गर्दछ कर्म नैतिक बनी–राखी विवेकी पन
पीडात्मा जन बस्छ पीडक बनी–थालेर उत्पीडन
पर्ती गौचार फाँट यी विगतका –मासी बनायो घर
चौडामार्ग मिचेर दम्भबलले–सीमा सरायो पर
अर्काका हक भोगका जमिनको–सन्धी मिच्यो साँड भैँ
पेल्यो सज्जनलाई क्रुर पनले–मान्छे विवेकी नभैँ
छैनन है वनसम्पदा विगतझैँ–श्रृङ्गारमा सुन्दर
बग्दैनन जलसम्पदा नद नदी– बाटा पुराना तिर
ढुंगा कंकण बालुका धराणिका–नाश्यो उठायो सबै
धर्ती आज उजाड देख्दछु म त– देख्दै उजाड्यो कठैँ
हान्दैछन किन बञ्चरो अबुझ भै–आफ्ना दुबै पैरमा
बुझदैनन् किन भूमि हो सकलको–आधारको साधन
गर्दैछन किन छेड–छाड दिनहुँ–आधार धर्ती सित
मान्छे नैतिकहीन भैकन यहाँ–चल्दैछ यो बेरित
गाईलाई धपाइ बेघर ग¥यो–आतङ्क पा¥यो सबै
धर्तीमाथि गरेर दोहान यहाँ–आक्रान्त पा¥यो अझै
मान्छेको किन चेतना बिलय भो– मात्तेर हिँडछन किन
धर्तीका संग ज्यादती गरिरहे–फिर्छन नराम्रा दिन