कैलालीको टिकापुरमा किन बढ्यो गुर्जाे खानेको संख्या, के छन् गुर्जाेका फाइदा ?
कैलाली: कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन्। यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ।
नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन्। यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जाे खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन्। गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ।
‘‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’’, उद्योगपति सुरतबहादुर विष्टले भने, ‘‘गुर्जाेको झोल हाम्रो परिवारले एक लर्षदेखि खाइरहेको छ। हामीलाई फाइदा भएको महसुस भएको छ।’’
उनले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताए। ‘‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’’, विष्टले भने, ‘‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ।’’
गुर्जाे खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन्। “कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन’’, स्थानीयवासी सीताकुमारी खनालले भने, ‘‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ।’’
गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ। ‘‘यो लहराजस्तै हुन्छ। गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’’, खनाल भन्छन् ‘‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ।’’
पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जाेको प्रयोग गर्न सुझाव दिन थालेका छन्। ‘‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्छ’’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भने, ‘‘सुत्केरीले बाहेक सबैले गुर्जाे प्रयोग गर्न सक्छन्। नेपालमा जहाँ पनि पाइने गुर्जाे जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ।’’
भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वे्दिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउँछन। ‘‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन’’, डा नेपाली भन्छन, ‘‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ। यसको सेवनले घाटा भने गर्दैन।’’ -रासस