सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोपोन्मुख धान : बिग्रिँदो जनस्वास्थ्य

२०७७ वैशाख १४, ०९:०२

रामचन्द्र जोशी 
बोरा बन्द सडे–गले जति सबै पैसा दिई किन्दछौँ
सेतो भात भए पुग्यो फरफरी खाई भुँडी भर्दछौँ ।
आए रोग निलेर पेट भरिने बेकालका दुर्दिन
पैसा छन् घरभित्र पुष्ट रसिला छैनन् कतै व्यञ्जन

               ।।१।। 

पोख्रेली मनभोग तौलि गुडुरा मानामुरी कन्जिरा 
गौरीया लहरे बले र रमनी ती मन्सुली मन्सरा
सावित्री झिनुवा बिरम्फुल तथा मार्सी पहेँले अनि
जर्नेली रुदुवा बयर्नि अनदी घैँया र आँगा पनि

               ।।२।।

ताक्मारे अँधरे जिरासरि तथा जेठोबुढो केवल
राधा सत्र र सात नौ हुन गए बालीहरू दुर्लभ 
एक्ले धान बचेन त्यो जडन औ फालो र थापाचिनी
भट्टे श्यामजिरा लगायत अरू गुर्रा सलौंजो जति

                ।।३।।

इन्द्रासैन र अन्जना रहरका थे जाउले धान जो
सिम्टारी भन खै रह्यो अब कहाँ ? त्यो आँपझुत्ते बडो
काँडे पौष्टिक हंसराज रसिला ती घ्यू–कुमारी त्यसै
सारा लोप भए गए अझ कहाँ ? गोला बिनौरी जसै

               ।।४।।

बर्मेली सठिया समुद्र फिनले पाएन मौका कतै 
नाभो कस्तुरि कृष्णभोग खुमली खै ती कहाँ छन् सबै ? 
गाम्दी गुर्दि र बास्मती अझ कतै माला फल्याङ्कोट नि 
छैनन् धान यहाँ कुनै चलनमा प्राचीन बाली पनि

              ।।५।।

खैरो चामलमा छ तत्त्व गतिलो भन्ने बुझे तापनि  
खोज्दा आज नपाइने हुन गए ती धानका बीज नि ! 
जिब्रोमा सबका सु–स्वाद रसिला जीरा–मसीना भए
छैनन् पौष्टिक खाद्यवस्तु अहिले छर्छन् विषादी अरे

            ।।६।।

हाम्रा सुन्दर फाँटका सब गरा बाँझा र बैला भई 
बस्दै छौँ परदेशका बगरमा सारा जवानी धसी 
कैले पाउँछ यो सबै जमिनले साँच्चै सिचाइँ मल ?
आफैँ निर्भर देश बन्छ कहिले ? नेपाल मेरो घर

            ।।७।।

निर्माता सब देशका सुन कुरा ज्ञाता र विद्वान् पनि 
अर्काको भरमा बसेर कसरीे होला र के उन्नति ?
ल्याऊ नीति गरेर जोड कृषिको हामी कहाँ छैन के ?
यो धर्ती हरियो बनोस् र भरियोस् खाद्यान्न भण्डारले

           ।।८।। 

(कवि जोशी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका शिक्षक पनि हुन्।)
 

कमेन्ट लोड गर्नुस