अचेल म विरानो भएछु !
सीताराम ओझा
अचेल म विरानो भएको छु ।
तिमीहरुले आउन छाडेर
मलाई भुसुक्कै विर्सेर
मेरो माया मारेर होईन् ।
कारण मलाई र तिमीहरुलाई थाहा नै छ
विश्वभरी कोरोनाको त्रास छ
देश पुरै लकडाउन छ ।
घरमै वस सुरक्षित भएर बस
म पनि तिमीहरुलाई कुरेर बसेको छु ।
तिमीहरुका मन्द मुस्कान र आतिम्यता
पैतालाका कलालाई ढुकिराखेको छु ।
आशा छ तिमीहरु चाँडै आउनेछौं
मसँग पहिले जस्तै रमाउनेछौं ।
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।
मिर्मिरेमै मलाई भेट्न आउने
तिमीहरुका पाईलाहरु स्पर्श गर्न नपाउँदा
मलाई न्यास्रो लागिरहेको छ ।
सुर्योदयसँगै तिमीहरुसँगै खेल्ने
तिमीहरु र तिमीहरुका साथीहरुसँग भलाकुसारी नहुँदा
मलाई उकुसमुकुस लागिरहेको छ ।।
खै किन तिमीहरुको यादले घरि घरि सताईरहेको छ
एकान्त वासमा तिमीहरु बसेका छौं
तर म उराठ वासमा छु जस्तो लाग्छ
खैर जे सुकै होस्
यो मनलाई बुझाएर नै राखेको छु
तिमीहरुकै लागि मनभित्र माया सजाएर राखेको छु ।।
आशा छ तिमीहरु पक्कै आउनेछौं
पहिले जस्तै एकसाथ रमाउनेछौं
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।
तिमीहरु नआउँदा मेरो मन च्यातिएको छ
हरियो घाँसे मैदानको रंग फेरिएको छ
हावाहुुरी र पानीले मलाई चुटिरहेको छ
मेरो पुरै स्वरुप नै फेरि दिएको छ
मलाई आफु चिन्न पनि गाहे भईसकेको छ
तिमीहरु बिना म अहिले उजाड मरुभुमी
पानी बिनाको माछा
फोहोरले भरिएको डम्पीङ साईड जस्तै भएको छु ।
तर पनि आशा छ तिमीहरुको
मेरो माया मार्ने छैनौं
मलाई एक्लो छाड्ने छैनौं
तिमीहरु अवश्य फर्किनेछौं
मलाई माया गरि रहनेछौं ।।
विश्वास छ तिमीहरु पक्कै आउनेछौं
पहिले जस्तै एकसाथ रमाउनेछौं
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।
मेरो छेउमै वसेर मलाई हेर्दै
तिमीहरुले सुरुक्क चियाको चुस्की पिउँदा
फरक फरक क्षेत्र
भिन्न भिन्न मान्छेहरुका
पिडाका प्वालहरु सिउँदा
मलाई कति आनन्द आउन्थो होला ।
तिमीहरुसँग हुने दैनिक भेट
तिमीहरुको पुट्ट फुलेको पेट
तिमीहरुका शरिर पुरै निर्थुक्क हुँदा
म आफै स्खलित हुँदा कति मज्जा आउन्थो होला ।।
तिमीहरु सवै होऔं मेरा खास
कति मिठो खेल्थ्यौ पास
बलसँग लडिवुडी खेल्दै
लुकामारी गर्दै
तिमीहरुले गोल गर्दा
मलाई कति सन्तुष्टी हुन्थ्यो होला ।
मलाई सवै याद छ
सायद तिमीहरुले पनि विर्सेका छैनौं
तिमीहरु मलाई भेट्न नखोजेका पनि होईनौं
तर बिचमा आएको परिस्थति र बाध्यता हो ।।
दृढ छु तिमीहरु पक्कै आउनेछौं
पहिले जस्तै एकसाथ रमाउनेछौं
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।
मेरो छेउकै क्याफेमा मेला लाग्थ्यो मान्छेको
मसँग खेल्नका लागि घण्टौं कुर्ने युवा
तिमीहरुसँग खेल्दा ताली हौसला
र
समर्थनको गडगडाहट हुन्थ्यो ।
खेल्न आएकाहरु खेलेर रमाउथे
हेर्न आएकाहरु हेरेर रमाउँथे
चियासँगै चुरोटको सर्को
निरन्तर चलिरहन्थ्यो मान्छेको लर्को
तर अहिले अवस्था फेरिएको छ ।
न त तिमीहरु आउँछौ
न त अरु कोही नै आउँछ
ती हुलहरु पनि छैनन्
खोलाको भेल जस्तै बगे
मेरो छेउका कुर्सीहरु एक्लै ढलेका छन् ।
तिमीहरुले आराम गर्ने ती बेन्चहरु
तिमीहरुकै पर्खाईमा गलेका छन् ।
मलाई जस्तै शुन्यता एक्लोपन
तिनीहरुलाई पनि लागेको होला ।
मलाई जस्तै उजाड र सुक्खापन
तिनीहरुले पनि भोग्दै होलान्
मैले जसरी मन गाँठो पारेको छु
त्यसैगरी
तिनीहरुले पनि मनको बाँध भत्किन नदिएका होलान् ।।
तर म पुरै तिमीहरुकै पर्खाईमा छु
मेरो आँखाहरु तिमीहरु आउने बाटोतिरै छ
मौनतामा परिणत ठाउँ चलमलाउँदा
तिमीहरु नै आयौं की भनेर
पटक पटक झस्किरहेकै हुन्छु ।
तर म ढुक्छ छु
तिमीहरु अवश्यक आउँछौं
पहिले जस्तै एकसाथ रमाउनेछौं
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।
अचेल म विरानो भएको छु ।
तिमीहरुले आउन छाडेर
मलाई भुसुक्कै विर्सेर
मेरो माया मारेर होईन् ।
कारण मलाई र तिमीहरुलाई थाहा नै छ
विश्वभरी कोरोनाको त्रास छ
देश पुरै लकडाउन छ ।
घरमै वस सुरक्षित भएर बस
म पनि तिमीहरुलाई कुरेर बसेको छु ।
अवस्था बदलिनेछ
परिस्थति फेरिनेछ
पुरानै अवस्थामा पुगेपछि हामी
विश्वास छ तिमीहरु पक्कै आउनेछौं
पहिले जस्तै एकसाथ रमाउनेछौं
त्यही आशामा कुरेर बसेको म
उही तिमीहरुको प्रिय फुटसल
तिमीहरु बिना अचले रित्तो भएको छु ।।