सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सरकारी अस्पतालमा बन्द ओपिडी सेवा सञ्चालन गर्ने विषयमा निर्णय भएन

फाईल तस्बिर
फाईल तस्बिर
२०७७ वैशाख २८, ०६:५५ जनक विष्ट

धनगढी : बैशाख २४ मा बसेको संघिय सरकारको मन्त्रीपरिषद् बैठकले सरकारी तथा नीजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरु, अस्पताल, नर्सिङ होम, पोलिक्लिनीक, ल्याब, डाईगोष्टीक सेन्टर, सञ्चालन गर्ने निर्णय गरेको छ। निर्णयमा सबै प्रकारका खोप लगायतका अत्यावश्यक सेवा सञ्चालन गर्ने भनिएको भएपनि ओपिडी सेवाका सन्र्दभका कुनै कुरा उल्लेख गरिएको छैन्।

तर झण्डै डेढ महिनादेखि अस्पतालहरुमा ओपिडी सेवा बन्द रहदा नियमित स्वास्थ्य परीक्षण गर्नैपर्ने, सुगर, दम जस्ता दीर्घरोग लागेका विरामी समस्यामा परेका छन्। जसका कारण अहिले अन्य क्षेत्र खुकुलो भईसकेकाले अस्पतालहरुमा समेत सामाजिक दुरी कायम गर्दै ओपिडी सेवा समेत सुचारु गर्नुपर्ने माग गरिन थालेको छ। तर अस्पतालहरुले माथिल्लो निकायबाट निर्देशन प्राप्त नहुँदा सेवा सञ्चालन गर्न नसकिएको भएपनि उपचारका लागि जुनसुकै विरामीलाई पनि घर फिर्ता नगरिएको दावी गरेका छन्।

डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिश विष्टले ओपिडी सेवा सञ्चालन नभएपनि उपचारका लागि पुग्ने सबै विरामीको चेकजाँच भईरहेको बताए। उनले स्वास्थ्य मन्त्रालयको निर्देशन पर्खिरहेको बताउँदै त्यसपछि मात्र सामाजिक दुरी कायम गरी पूर्ण रुपमा ओपिडी सेवा सञ्चालन गर्न सकिने जनाए।

कञ्चनपुरको महाकाली अस्पतालले भने सामाजिक दुरी कायम गर्दै दुई हप्तादेखि ओपिडी सेवा सञ्चालन गरेको छ। तर दैनिक २५ जना सम्मको मात्र परीक्षण भईरहेको छ। महाकाली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले झण्डै तीन साता पहिलेदेखि नै ओपिडी सेवा सुचारु गरिएको जानकारी दिए।

उनले समान्य समयको जस्तै बिरामीको भीडभाड हुन नदिन सामाजिक दुरी कायम गरी सेवा प्रदान गरिरहेको बताए। संघिय सरकार मातहतको डडेल्धुरा अस्पताल र प्रदेश मातहतको महाकालीले आशिंक रुपमा ओपिडी सेवा सञ्चालन गरेपनि प्रदेशकै रेफरल सेतीले भने तत्काल कुनै निर्णय लिईनसकेको जनाएको छ।

सेतीलाई कोरोना विशेष अस्पतालका रुपमा तोकिएपछि संक्रमितको उपचार गर्नुपर्ने अवस्थामा अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको थियो।  अस्पतालमा उपचाररत पाँचै जना संक्रमित निको भएर डिस्चार्ज भईसकेपनि शंकास्पद विरामी आउने भएकाले तत्काल ओपिडी सेवा सुचारु गर्ने विषयमा कुनै निर्णय नभएको हो।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले ओपिडी सेवा सञ्चालन गर्ने सन्र्दभमा छलफल भईरहेको बताए। उनले सेतीलाई कोरोना विशेष अस्पताल तोकिएका कारण आन्तरिक र माथिल्लो निकायसँगको छलफलपछि उक्त कुरा टुङ्गोमा पुग्ने बताए। तर आवश्यक सुरक्षा प्रबन्ध मिलाएर सेवा सञ्चालन गरिने मेसु पाण्डेले बताए।

कोरोनाका विरामीको उपचारका लागि निर्माण भईरहेको ५० शैयाको अस्पतालको काम छिट्टै सम्पन्न भएमा सहज हुने विश्वास गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत अस्पतालहरुमा बन्द अवस्थामा रहेको ओपिडी सेवा सञ्चालन गर्ने सन्र्दभमा छलफल चलिरहेकाले छिट्टै निर्णय हुने जनाएको छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सकभर आज सम्म ओपिडी सेवा सञ्चालन गर्ने विषयमा निर्णय हुने जानकारी दिए। अहिले अस्पतालहरुमा ओपिडी सेवा बन्द हुँदा दीर्घ रोगीहरु सबैभन्दा बढि समस्यामा परेका छन्।

अर्कोतर्फ गाउँघरमै समान्य खालको उपचार सेवा समेत उपलब्ध नहुँदा रोग पालेर बस्नुपर्ने बाध्यता आईलागेको भन्दै सामाजिक दुरी कायम गरी अस्पतालहरुले ओपिडी सेवा सञ्चालन गर्नुपर्ने माग उठेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस