कैलालीका सिडिओको साहित्य मोह
कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीको पद सम्हालेको झण्डै पौने २ बर्षमा गोविन्दप्रसाद रिजालका धेरै परिचय बनेका छन् । रिजाललाई कसैले असल प्रशासक, कसैले प्रखर वक्ता त कसैले कर्तव्यनिष्ट कर्मचारी भनेका छन् । झण्डै एक बर्ष अगाडी जनताको घरदैलोमै पुुगेर सेवा प्रवाह गर्नुपर्छ भन्दै रिजालले सुरु गरेको घरदैलो अभियानले पनि रिजाललाई जनताप्रेमी बनाएको थियो । यी परिचयका साथ साथै प्रमुख जिल्ला अधिकारी रिजालको एउटा अर्को फरक परिचय पनि छ, रिजालले साहित्य लेखनीमा पनि राम्रै दख्खल राख्छन् ।
न चाहेर हुन्छ, न कसैले मन पराएर हुन्छ
साँचो प्रेम त अनुभुतिमा आएर हुन्छ ।
जब नजिक हुन थाल्छन दुई आत्माहरू
पराईले पराईलाई, मुटुमा पो सजाएर हुन्छ ।।
जन्मथलो दैलेख जिल्लामा उच्च शिक्षासम्मको अध्ययनका क्रममा विद्यालयमा आयोजना विभिन्न कार्यक्रम र वनभोजका कार्यक्रमलाई लक्षित गर्दै सामहिक विषयवस्तुमा रचना कोर्ने क्रम कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले सुरु गरे । विद्यालयमा कार्यक्रमका रचना श्रृजना गर्दा गर्दै रिजाललाई एउटा कुसल रचनाकार बनाईसकेको थियो तर त्यसको हेक्का रिजाललाई थिएन् ।
अब सुर्य उदाउनेछ पश्चिमबाट
र बिहानी आउनेछ पश्चिमबाट ।।
जलाउनुछ आशाका दियोहरू
तब खुशी छाउनेछ पश्चिमबाट ।।
गौरा र माघी मिलेरै गाँउवस्तीमा
प्रेमका गित गाउनेछ पश्चिमबाट ।।
तिमि थोरै सदभाव बोकेर आउनु
उस्ले हाँसो फर्काउनेछ पश्चिमबाट ।।
थोरैमात्र पौरख भेटे यही धर्तिले
सुन्दर स्वर्ग सजाउनेछ पश्चिमबाट ।।
अब सुर्य उदाउनेछ पश्चिमबाट
र समृद्धि आउनेछ पश्चिमबाट ।।
सरकारी जागीर सुरु गरेको झण्डै डेढ दशक पुग्नै लाग्दा रिजालको समय जनतालाई सेवा दिनमै वित्न थाल्यो । कैलालीको प्रमुख जिल्ला अधिकारीको पद सम्हालेपछि त रिजालको व्यस्तता झनै बढ्यो । तर पनि रिजाल भित्र रहेको साहित्य मोह उनको व्यस्त जिन्दगीबाट कहि कतै हराएन । प्रमुख जिल्ला अधिकारी रिजाल व्यस्त दैनिकीसंगै गजल लेखनको क्रम पनि अगाडी बढाउन सफल भएका छन् ।
अरू जस्तो सुन्दर मलाई देखिनौ त म के गरू
एउटा जावो सन्देश पनि लेखिनौ त म के गरू
यही बिचमा कोही तिम्रो दिल भित्रै पसी दियो
तिम्ले पनि उसको बाटो छेकिनौ त म के गरू ।।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दर्जनौ गजल र कविता श्रृजना गरेका छन् तर पनि रिजाल आफुलाई साहित्यकारको दर्जामा राख्न चाहदैनन् । धेरैले एकान्त र एक्लोपन भएका बेला रचना श्रृजना गर्ने गर्दछन तर प्रमुख जिल्ला अधिकारी रिजाल यात्राका क्रममा बढी लेख्छन् । रचनाहरु प्रस्तुत गर्ने माध्यम भने सामाजिक संजाल फेसबुक बनेको छ ।
उ जान्छु पनि, नभनेरै गयो
सोचे आफ्नो, तर खेरै गयो ।।
हिजो ओत बन्यो यही दील
आज भने बसाई सरेरै गयो ।।
जब आँधि आयो हुरी चल्यो
समयको छालसँगै बहेरै गयो ।।
खै आफन्त पनि कसरी भन्नु
उ पराई हो, पराई भएरै गयो ।।
उ जान्छु पनि, नभनेरै गयो
सोचे आफ्नो, तर खेरै गयो ।।
कैलाली बसाईको पौने २ बर्षमा प्रमुख जिल्ला अधिकारीको विभिन्न साहित्यक कार्यक्रममा पनि सहभागीता रहदै आएको छ । विषेश गरी समसामहिक विषयबस्तु र आफ्ना भोगाईलाई गजल मार्फत छर्लङ पार्दै आएका रिजाल त्यस्ता साहित्यीक माहोलमा रचना सुनाउन पछि पर्दैनन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रचेका थुप्रै गजल, कविता र लघुकथाहरुले अहिले कृतिको आकार पाएका छैनन् । तर पाठकहरुले रुचाएपछि कृति प्रकाशन पनि गर्ने योजना बनाएका छन् ।