सुदूर नेपाललाई विश्वसँग जोड्दै

नासपाती: गुदीभन्दा बोक्रा फाइदाजनक

२०७५ साउन १४, ०८:०९

  मौसमी फल नासपाती हाम्रो मुलुकमा पहाडी स्थानमा पाइन्छ । यो गुलियो र स्वादिष्ट मात्र हुँदैन, थुप्रै पौष्टिक तत्त्व र औषधीय गुणले भरिपूर्णसमेत हुन्छ ।
 नासपाती क्याल्सियम, क्लोरिन, फलाम, म्याग्नेसियम, सोडियम, सल्फर, तामा, फोस्फोरस र पोटेसियमको राम्रो स्रोत हो ।
यसको बोक्रामा धेरै लाभदायक तत्त्व हुन्छन् । त्यसैले नासपाती नताछी खानु निकै राम्रो मानिन्छ । यसको बोक्रामा गुदीको तुलनामा तीनचार गुणा बढी फाइटो न्युट्रिसन पाइन्छ, जसले क्यान्सर र मुटु रोगको जोखिम घटाउने गर्छ । यो फलमा थुप्रै एन्टिअक्सिडेन्ट पाइन्छन् ।
एन्टिअक्सिडेन्टले बुढ्यौलीको संकेतलाई रोक्नुका साथै उच्च रक्तचाप र स्ट्रोकको सम्भावना कम गर्ने गर्छ । यसमा भएको भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टले छालामा बढ्दा उमेरको प्रभाव कम गर्छ । चाउरी, डन्डीफोर र छाला सम्बन्धी समस्या रोक्न पनि सघाउँछ ।
नासपातीमा रेसा (फाइबर) उच्च मात्रामा हुन्छ । एउटा नासपाती खाँदा एक दिनको फाइबरको मात्राको करिब २४ प्रतिशतसम्म पूरा गर्न सकिन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । 
फाइबरको राम्रो स्रोत हुने भएकाले यसमा भएको पेक्टिनले न कब्जियत हुन दिन्छ न त पखाला । पेक्टिनले रगतको कोलेस्ट्रोल र सेलुलोजको स्तर नियन्त्रित गर्छ । नासपाती भोक मेटाउन सहयोगी हुन्छ । 
यसमा भएको फाइबर धेरै ढिलोसम्म रहने हँुदा पेट भरिएको अनुभव भइरहन्छ । फाइबरले पेटको क्यान्सर बढ्न दिँदैन, ठूलो आन्द्रा स्वस्थ भइरहन्छ । यसमा पाइने हाइड्रो–अक्सिनमिक एसिडले पनि पेटको क्यान्सर रोक्न सघाउँछ ।
नासपाती जुनसुकै उमेर समूहका लागि उपयुक्त हुन्छ । मधुमेह, मोटोपन, जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिका लागि यो फल राम्रो मानिन्छ ।
यसमा लेबलोज हुन्छ । यो सुगरको एउटा प्राकृतिक रुप हो । अत्यन्त स्वास्थ्यवद्र्धक मानिएको लेबलोजले रगतमा सुगरको स्तर बढ्न दिँदैन ।
यसमा बढी मात्रामा बोरोन हुन्छ । बोरोनले हाम्रो हाडमा क्याल्सियम रहिरहन सघाउँछ । यो फल खाँदा अस्टियोअस्पोरोसिस हुने खतरा कम हुन्छ ।
नासपाती नियमित रूपमा खाने महिलाहरूलाई महिनावारी सुकेपछि क्यान्सर हुन सक्ने सम्भावना निकै घट्छ । यसमा भएको भिटामिन सी र एन्टिअक्सिडेन्टको गुणले क्यान्सरबाट कोषिकाहरू नष्ट हुन दिन्न ।
यसमा तामा र भिटामिन सी प्रशस्त पाइने भएका कारण हामीमा रोगप्रतिरोधी क्षमता बलियो बनाउँछ । संक्रामक रोग हुन पाउन्न । मौसमी रुघाखोकीबाट समेत जोगाउछ ।
नासपातीमा ग्लुकोज हुने भएकोले खाएपछि शरीरमा तुरुन्त ऊर्जा बढ्छ ।
यसमा प्रशस्त मात्रामा फलाम पाइने भएकोले सेवन गर्दा हिमोग्लोबिनको स्तर बढछ । रक्तअल्पताले पीडित व्यक्तिले यो फल खानु राम्रो मानिएको छ । 
नासपाती खाइरहने महिलाको भविष्यको शिशुलाई ‘न्युरल टयुब डिफेक्ट’ हुन पाउन्न । यो फलमा पाइने फोलिक एसिडले यसमा काम गरेको हुन्छ ।

कमेन्ट लोड गर्नुस