सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भावस्थामा किन हुन्छ मानसिक समस्या ?

२०७५ साउन १८, ०७:५०

  विवाहित महिलाका लागि गर्भावस्थाको समय अत्यन्त महत्वपूर्ण हुन्छ । विवाहपछि गर्भ रहँदा प्रायः महिला उत्साहित र खुसी हुन्छन् । 
तर, उनीहरू विभिन्न प्रकारका तनावबाट समेत ग्रसित हुन सक्छन् । उसो त यस्तो अवस्था निकै संवेदनशील पनि हुन्छ । त्यसैले यस्तो अवस्थामा महिलाले आफ्नो स्वास्थ्यमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।
 यी हुन् गर्भावस्थामा मानसिक समस्या हुनुका मुख्य कारण :
अनुसन्धान
हालै गरिएको एक अध्ययनअनुसार विश्वका २० प्रतिशत महिलालाई बच्चा जन्माइसकेपछि कुनै न कुनै मानसिक समस्या देखा परेको छ ।
 र, विश्वका ८० प्रतिशत महिला सुत्केरीपछिको केही समय सामान्य डिप्रेसनमा हुन्छन् । त्यस्तै, ११ देखि २० प्रतिशत महिलामा बच्चा जन्माएपछि पोस्ट पार्टम डिप्रेसन पनि देखा पर्ने गरेको पाइएको छ ।
सामान्यतया मानिसहरूले गर्भावस्थामा महिलामा डिप्रेसन हुनुको पहिलो कारण उनीहरूमा विकसित हुने हर्मोनलाई लिने गर्छन् । 
तर, यससँगै जीवन जिउने शैली र आफू आमा बन्दै छु भन्नेमा डर, उत्सुकता, उदासीनता, निराशा, तनावजस्ता कुराले पनि भूमिका खेलिरहेको हुन्छ ।
कारण
-विनायोजना गर्भ रहेमा आमामा मानसिक समस्या देखा पर्न सक्छ ।
-मानिसलाई उसको आर्थिक अवस्थाले पनि ठूलो भूमिका निर्वाह गर्छ । यदि आर्थिक रूपमा सक्षम नभई गर्भ रहेको अवस्थामा यस्तो समस्या देखा पर्न सक्छ ।
-कसैको जीवनसाथी गैरजिम्मेवार पनि हुन्छन् । उनीहरू असहयोगी वा अपमान गर्ने खालको भए पनि गर्भावस्थामा यस्तो समस्या देखा पर्ने गर्छ ।
-सिमाजको उचित साहयता र सहयोग नभएको, विभिन्न शारीरिक रोगबाट ग्रसित भएका महिलामा पनि यस्तो समस्या हुने प्रशस्त सम्भावना हुन्छ ।
-परिवारका कोही सदस्यलाई डिप्रेसन भएमा,
-बाँझोपनको उपचार गराएको अवस्थामा या पहिलो गर्भ तुहिएमा,
-विभिन्न तनावयुक्त घटनाका कारण पनि मानसिक समस्या हुन्छ ।
-पेटभित्र रहेको शिशुको अवस्था जटिल भएमा,
-महिला हिंसा वा मानसिक आघात पार्ने घटना घटेको अवस्थामा पनि उनीहरू मानसिक समस्याबाट ग्रसित हुन सक्छन् ।
लक्षण
-धेरै थकित देखिनु, जिउ भारी भइरहनु,
-निर्णय लिन अप्ठ्यारो हुनु, बच्चाको जन्मपछि हेरविचारमा समस्या देख्नु,
-दुःखी भइरहनु, आफूलाई नै आफ्नो वशमा राख्न नसक्नु,
-दिक्क लागिरहनु, सधैँ उदास रहनु,
-कहिलेकाहीँ आफ्नो पेटमा गर्भ नै नरहेको भए हुन्थ्यो भन्नेजस्ता भावना मनमा खेल्नु,
-खाने शैलीमा परिवर्तन हुनु, खानाप्रति रुचि हराउँदै जानु,
-मुड स्थिर नहुनु, अकस्मात् मुड परिवर्तन भइरहनु,
-दिमागमा नकारात्मक सोच मात्र आइरहनु,
-निद्रामा असन्तुलन हुनु, निद्रा निकै बढी वा निकै कम लाग्नु,
-आफ्नो इच्छाको काममा समेत ध्यान कम जानु,
-कहिलेकाहीँ आत्महत्याको विचारसमेत आउनु,
-आफ्नो जिन्दगीलाई बेकाम महसुस गर्नु वा जन्मिएकोमा पश्चाताप लाग्नु,
समाधान
-यसबाट बच्न सकारात्मक समूहमा आफ्नो कुरालाई खुलेर व्यक्त गर्न सक्ने बानीको विकास गर्नुपर्छ ।
-परिवारमा विशेषगरी श्रीमान्ले राम्रोसँग हेरचाह गर्न आवश्यक हुन्छ ।
-मानसिक तथा आर्थिक रूपमा सक्षम भएर मात्र गर्भधारण गर्नुपर्छ ।
-यस्तो समस्या आएमा मनोचिकित्सकसँग परामर्श लिने र आवश्यक परेमा औषधिकै सेवन गर्नुपर्छ । विभिन्न थेरापी गरेर पनि यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।
-सन्तुलित भोजनमा पनि ख्याल गर्नुपर्छ । र, दैनिक योग ध्यान गर्ने, शारीरिक अवस्थाअनुसार व्यायाम गर्नेजस्ता गतिविधिलाई निरन्तरता दिनुपर्छ ।
-गर्भावस्थामा आमाले गर्ने हरेक व्यवहारको प्रत्यक्ष प्रभाव पेटमा हुर्कंदै गरेको शिशुमा पर्ने गर्छ । यतिसम्म कि आमाले कस्तो सोच राखेको हुन्छ, त्यसको समेत प्रभाव शिशुमा परिरहेको हुन्छ । –
-त्यसैले, यस्तो अवस्थामा आमा शारीरिक, मानसिक र भावनात्मक रूपमा समेत स्वस्थ रहन आवश्यक हुन्छ । यसको वातावरण परिवारले पनि मिलाउनुपर्छ । सकेसम्म गर्भावस्थाका महिलालाई कुनै प्रकारको तनाव दिनुहुँदैन ।
-यस्तो अवस्थामा संगीत सुन्ने, उत्प्रेरणामूलक र आध्यात्मिक पुस्तक पढ्ने बानी गर्नुपर्छ ।

कमेन्ट लोड गर्नुस