शिशु जन्मिएको कतिपछि यौनसम्पर्क राख्दा उत्तम ?
धेरै दम्पतीको मनमा प्रश्न उठ्छ, शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुनः सुरु गर्न हुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला ।
सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि । कतिपयले ६ हप्तालाई यौनसम्पर्क शुरु गर्न सकिने समय मानेका छन् । कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिपयले चाहिँ अझ बढी समय पर्खनु उचित हुने बताएका छन् ।
विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारिरीक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्वपूर्ण कुरा हो । शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै श्रीमान्ले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए श्रीमतीलाई निकै असजिलो हुन्छ ।
दम्पतीले आफ्नो मनमा भएका चाहना अनि अप्ठयाराहरूलाई खुलस्त एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरी त्यसको समाधान खोज्नुपर्छ ।
यौन क्रियाकलापमा संलग्न हुन दुवैजना तयार भएको स्थितिमा दुवैले केही समय निकाल्नुपर्छ । कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन् ।
तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन ।