फूलैफूलको मौसम : टीकापुरका सीतारामलाई माला उन्न भ्याइनभ्याइ
धनगढी : तिहारकौ रौनक बढेसंगै कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’लाई भ्याइनभ्याइ छ । फूलबारीमा ढपक्क फूलेका फूलहरुलाई टिप्नु, साइज अनुसार ग्रेडिङ गर्नु, माला उन्न उनलाई हम्मे–हम्मे परेको छ ।
उनी भन्छन् ‘पुष्प व्यवसायको मुख्य सिजन नै यही हो । हामी आजभोलि नओइलाउने मखमली फूल टिप्ने र माला उन्ने कार्यमा लागेका छौ । तिहारको लक्ष्मी पूजाको दिनदेखि हामी सयपत्री फूल टिप्ने र माला उन्ने काममा लाग्छौ ।’
उनले फूलहरुको आकार अनुसार ग्रेडिङको कार्य समेत गर्दै आएको बताउँछन् । जसको आधारमा नै मालाको मूल्य निर्धारण गर्दै आएको जानकारी दिए ।
उनले क श्रेणीको प्रति मालाको मूल्य १ सय रुपैया, ख श्रेणीको प्रति मालाको मूल्य ९० रुपैयाँ र ग श्रेणीको प्रति मालाको ८० रुपैया मूल्य निर्धारण गरेका छन् ।
पुष्प व्यवसायी चौधरीको व्यवसाय निकै फष्टाएको छ । क्रमिक रुपमा सफलता हासिल गर्दै आएका छन् । उनले अन्य बालीमा भन्दा फूल खेतीमा राम्रो आम्दानी हुने गरेको बताउँछन् ।
३ वर्ष अगाडीसम्म १० कट्ठा जमिनमा ८÷९ क्वीन्टल धान फलाउँथे उनी । विक्री गर्दा मुस्किलले २० हजार रुपैया पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा वर्षेनि बराबरी हुन्थे । कुनै वर्ष त नोक्सानी सहनुपथ्यो ।
तर ३ वर्षयता उनको सो धान फल्ने जमिन सयपत्री फूलले ढपक्क ढाकिन्दै आएको छ । दैनिक दर्जनौं कामदारको चहलपहल । जोड–घटाउ गर्दा देखिने आम्दानीले जीवनभरि यताउती भौतारिएर निराश बनेका सितलको मुहार फूल खेतीमा पाएको सफलताले सयपत्री झै ढपक्क खुलेको छ ।
विगतका वर्षमा १० कठ्ठा जमिनमा खेती गर्दै आएका चौधरी चालु वर्षमा भने लकडाउनका कारण ८ कठ्ठा जमिनमा खेती गरेका छन् । तर उत्पादन भने नघटेको उनी बताउँछन् ।
उनले यो सिजनमा साढे २ लाखदेखि ३ लाख रुपैयाँसम्म कारोबार गर्ने योजना बनाएका छन् । जसको लागि उनले तिहारमा २५ सयदेखि ३ हजारसम्म माला बिक्री गर्ने योजना बनाएको सुनाउँछन् ।
जवानीभरि भौतारिए, फूलमा मिल्यो सफलता
उनले विगत स्मरण गरे–‘जीवनको उर्जावान समय धेरै क्षेत्रमा खर्च गरियो । कला क्षेत्रमा हात हालिएन कि, क्यामेरा बोकेर हिडिएन । तर कतै फापे जस्तो लागेन । अन्तिममा जे परे पर्ला । डुबे, डुबुला भनेर फूल व्यवसाय रोजे । यसबाट मलाई सन्तुष्टि मिलेको छ ।’
महेन्द्र बहुमुुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका सितलले एकताका भारतको मुम्बईमा फोटोग्राफीको तालिम लिए । फोटो स्टुडियो खोली उनले ०४९ देखि ०५१ सम्म फोटोग्राफीमा क्रियाशिल रहे । तर फापेन । फोटो व्यवसाय मात्रै होइन, २०५७ मा फिल्म क्षेत्रमा हात हाले । पश्चिमा थारु भाषाको पहिलो फिल्म ‘कुहिरा’को निर्माता भइ काम गरे । त्यसमा पनि सफलता हात पार्न नसकेको उनी बताउँछन् । जिविकोपार्जनको लागि खेतीपाती संगै अनेकौ ठाउँमा भौतारिए । अनेकौ पेशा अंगाले । तर सफलता हात नपरेपछि अन्ततः उनी फूल खेतीमा हात हालेका हुन् ।
‘अरु क्षेत्रमा भन्दा सम्भावना बढी देखे । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ । तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिन । वाहिरबाटै आयात भएको पाए’, उनले अगाडी थपे–‘सोधखोजकै क्रममा चितवनमा गरिएको व्यावसायिक फूल खेतीको अनुगमन गरे । उहाँहरु त यहाँ मात्रै होइन यहाँबाट विदेशसम्म फूलको निर्यात गर्नु हुँदोरहेछ । उहाँहरु गर्न सक्नुहुन्छ, भने मैले किन गर्न नसक्ने भन्ने आँट आयो । चितवनमै फूल खेती सम्बन्धी २ हप्ते तालिम लिए । प्राविधिक ज्ञानसमेत हासिल गरेपछि सुरुवात गरिहाले ।’
उनी २०७५ साउनदेखि १० कठ्ठा जमिनमा खेतीको सुरुवात गरेका हुन् । इन्द्रेणी फ्लोरी कल्चर एण्ड डेकोरेटरसर्् फर्म स्थापना गरी उनले पहिलो सिजनमै राम्रो प्रतिफल पाएपछि निकै उत्साहित भए ।
सुरुवाती वर्षमा १ लाख ३५ हजार लगानी गरेका उनले एकै सिजनमा ३ लाख र वर्षमा करिब ६ लाख आम्दानी गरे । विगतमा गरिएको धान खेतीबाट हुने प्रतिफल र फूलबाट आएको प्रतिफलले उनमा खुशीका सीमा रहेन ।
फूल रोपेको खेत देखाउँदै उनी भन्छन्–‘यहि डिहुवा (उचो खेत) हो, यसमा वर्षौदेखि धान लगाउँथे । बडो मुस्किलले २० हजारको धान बेच्थे । अहिले यसैमा फूल खेती गरे । धानबाट हुने आम्दानी र फूलबाट हुने आम्दानी हेर्दा जमिन अकाशको फरक छ ।’
उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिरसम्म र फागुनदेखि असारसम्म गरी २ सिजनमा खेती गर्न सकिन्छ ।
रोजगारी सिर्जना
छोटो समयमा नै फूल खेतीमा रमाइरहेका चौधरीले आफु र परिवारका सदस्यलाई स्वरोजगार मात्रै बनाएका छैनन् । छिमेकीलाई समेत रोजगारी दिन सफल भएका छन् । ६ जनाको परिवार रहेको उनको उनीसहित ५ जना सदस्य फूल खेतीमै संलग्न छन् । भने १२ जनालाई रोजगारी प्रदान गरेका छन् ।