सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ‘सी’ र ‘ई’ गाउँको शोकमग्न ‘डेवारी’

२०७७ कार्तिक ३०, ११:१५ लखन चौधरी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १८ ‘ई’ गाउँका ऋषिराम चौधरी (५९) र उनको परिवारबीच कार्तिक २७ गते (विहिबार) साँझ मोबाइल संवाद भयो । भनेका थिए, ‘डेवारी मनाइ घर आइटु । काल (भोलि) मजासे गाउँ पुुगजैम ।’
सकुसल भोलि घर पुग्ने भन्ने छोटो संवादपछि उनीसहित ५ जनाको समूह बसमा चढ्यो ।

तर राति १०/११ बजेतिरको अपुष्ट समाचार भुसको आगो झै फैलियो । अपत्यारिलो समाचारले घरपरिवार छरछिमेकको निन्द्रा भंग भयो । अनलाइन, फेसबुकको भित्ता भरियो, एफएम रेडियोको शुक्रबार विहानैको समाचार बुलेटिनमा नमिठो शब्दले भरिएको वाक्य सुरुमै गुञ्जियो ‘बैतडीको खोड्पेमा बस दुर्घटना, ९ जनाको मृत्यु, ३४ घाइते ।’

समाचार झुठो होला, भन्ने मन थामेर बसेका परिवारजनलाई केही घाइतेका आफन्त र विश्वासिलो स्रोतबाट अपत्यारिलो खबर सत्य भएको पुष्टि भएपछि ऋषिरामको परिवारमा विक्षिप्त बन्यो ।

ऋषिरामका छोरा दिपेश चौधरीले मलिन स्वरमा भने, ‘नसोचिएको घटना, सुन्नै मन लाग्ने शब्दले भरिएको समाचार आफ्नै अभिभावकको थियो । दैवले घरको छानो खोसेर लग्यो । टुहुरो बनायो ।’

धनगढी उपमहानगरपालिका १४ ‘सी’ र वडा नं. १८ ‘ई’ गाउँ थारु बाहुल्य बस्ती हो । कोरोना महामारीले विगतका वर्षमा झै गाउँमा उल्लास नभएपनि स्थानीयहरु आफ्नै तरिकाले ‘डेवारी’को धुमधाम तयारीमा थिए । दीपावलीलाई डेवारीको नामले मनाउने प्रचलन रहेको थारु बस्तीमा छुट्टै रौनक हुन्छ । 

तर त्यो घटनाले ऋषिरामको परिवार मात्रै शोकमा डुबेन, डेवारीको रौनक छाएको पूरै गाउँ क्षणभरमै शोकमा डुब्यो । गाउँमा मात्रै सीमित रहेन दुःखको सञ्चार छिमेकी गाउँ ‘सी गाउँ’सम्म पनि पुुग्यो । वस्ती नै शोकमा डुब्यो । 

ऋषिराम आफ्नो परिवारको मात्रै अभिभावक थिएनन् । उनी मजदुरहरुको नेता, मुनिम तथा अभिभावक थिए । गाउँघरका बेरोजगार युवाहरुलाई उनी रोजगारीको लागि बैतडीको नवाली भन्ने ठाउँमा राज मिस्त्री तथा घर बनाउने कामको लागि लैजाने काम गर्दै आएका थिए ।

धनगढी उपमहानगरपालिका १८ का वडा अध्यक्ष मुरारी अधिकारी भन्छन् ‘उहाँ ज्याला मजदुरीको लागि गाउँका बेरोजगार युवाहरुलाई काममा लगाउदै आउनुभएको थियो । जुन कारण उहाँ धेरैको अभिभावक हुनुहुन्थ्यो ।’

वडा नं. १४ सी गाउँका नरेन्द्र चौधरी (२५) लाई पनि ऋषिरामले काममा लगाएका थिए । संगै काम गर्ने नरेन्द्र चौधरी त्यो दिन, त्यही बसमा सवार थिए । ऋषिराम संगै त्यही बसमा डेवारी मनाउनको लागि घर फर्किरहेका थिए । तर उनी पनि कहिलै नफर्किने गरी अस्ताए ।

मृतक नरेन्द्र चौधरीका दाजु रविन्द्र चौधरीका अनुसार उनको घरमा ३ दाईभाई छन् । उनका १ छोरा र जन्नी (श्रीमती) छिन् । अल्पआयुमै नरेन्द्रको अवशानले उनको परिवार विक्षिप्त बनेका छन् ।

ऋषिराम र नरेन्द्रको अन्तिम सस्कार थारु परम्परा अनुसार शनिबार भयो । ती २ गाउँ हाल शोकमा डुबेको छ ।

त्यो बस दुर्घटनाले ती २ गाउँका अन्य ३ जना मजदुरलाई कहिलै बिर्सन नसकिने चोट दिई घाइते पनि बनाएको छ ।

वडा अध्यक्ष मुरारी अधिकारीका अनुसार ‘ई’ गाउँ आदर्श टोलका लोकबहादुर बस्नेत, ‘एफ’ गाउँका गंगा बहादुर घर्तिमगरको छोरा विरेन्द्र घर्तिमगर र ‘एफ गाउँ’का दिनेश चौधरी घाइते भएका छन् । विरेन्द्र घर्तिमगरको उपचार धनगढी र नेपालगञ्जमा सम्भव नभएपछि उनलाई काठमाडौं रेफर गरिएको छ ।

थोत्रो बसले निम्त्याएको दुर्घटना
बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना परेको थियो ।

थोत्रो गाडी त्यसमाथि ओभर लोडका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुको भनाइ छ ।

सवार यात्रुहरुका अनुसार बेलाबेलामा बसको इन्जिनमा समस्या आइरहेको थियो । स्टार्ट बन्द हुन खोज्दा चालक वीरेन्द्र कार्कीले रोक्ने चलाउने गरेको घाइतेहरु बताउँछन् ।

दुर्घटनामा परेर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ८ तिलाचौरकी १५ वर्षीया कृतिका कार्की, दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका डाडाकोट बस्ने जगन्नाथ ओझा, बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने कपिन्द्र प्रसाद जोशी, दार्चुला जिल्लाको खरकडा बस्ने तर्कराज गिरीको मृत्यु भएको छ ।

त्यस्तै, बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका. ६ बस्ने रण बहादुर चन्द, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपािलिका. १० बस्ने बिज्ना देवी धामी, कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १४ का नरेन्द्र चौधरी, ऋषि राम चौधरी र बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने करन सिंह ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, ३४ जना घाइते भएका छन् ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस