बिग्रिएको ६ महिना सम्म पनि बनेन सेती अञ्चल अस्पतालको लिफ्ट (भिडियो सहित)
विरामीलाई पिठ्युमै बोक्नुपर्ने बाध्यता
डडेल्धुराको भागेश्वर गाँउपालिका ५ का जयराज भट्ट श्रीमतीलाई सर्पले टोकेपछि उपचारका लागि गत असार २७ गते सेती अञ्चल अस्पताल पुगे । एम्बुलेन्स रिर्जव गरेर सेती अञ्चल अस्पताल पुगेका भट्टकी श्रीमति हिड्न नसक्ने अवस्थामा थिईन् । अस्पतालले भट्टलाई उपचारका लागि दोस्रो तलामा रहेको मेडिकल वार्डमा लैजान भनेपछि लिफ्टको प्रयोग गर्न खोजे तर लिफ्ट प्रयोग विहिन भएको कुरा थाहा पाएपछि उनले श्रीमतीलाई पिठ्युमा बोक्दै उपचार कक्षसम्म पु¥याए । सेती अञ्चल अस्पतालले ६ महिना अघि बिग्रिएको लिफ्ट मर्मत नगरेपछि असहाय र गम्भीर प्रकृतिका विरामी समस्यामा परेका छन् । झण्डै १५ लाख खर्च गरी सञ्चालनमा ल्याइएको लिफ्ट बिग्रिएको लामो समयसम्म मर्मत नहुँदा असहाय र गम्भीर प्रकृतिका विरामीलाई उपचार कक्षसम्म पुग्न समस्या हुने गरेको छ । लिफ्ट सुविधा ठप्प भएपछि कुरुवाले पिठ्युमा बोकेर विरामीलाई उपचार कक्ष सम्म पु¥याउनुपर्ने वाध्यता छ । अस्पतालले असहाय र गम्भीर प्रकृतिका विरामीको सहजताका लागि भन्दै ६ वर्ष पहिले सञ्चालनमा ल्याएको लिफ्ट ६ महिनाअघि विग्रिएर काम नलाग्ने अवस्थामा पुगेपछि विरामीलाई समस्या भइरहेको हो ।
अस्पतालको पहिलो तला सम्म गम्भीर प्रकृतिका विरामीलाई ¥याम्प मार्फत स्टेचर र हुईलचियरको माध्यमले ल्याउने÷लैजाने गरिएपनि दोस्रो तलामा रहेको डायलासिस र मेडिकल वार्ड तथा आईसियु कक्षमा उपचार गराउनुपर्ने विरामीलाई भने बोकेरै ल्याउने-लैजाने गरिएको छ । प्रदेश ७ का ३० लाख जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पतालको यस्तै लापरवाहीका कारण स्तरीय र छिटोछरितो उपचार सेवा पाउने आशा घट्दै गएको छ भने टाढा टाढाबाट उपचारका लागि अस्पतालमा पुग्ने विरामी र तीनका कुरुवाले सधै सास्ती खेप्नुपर्ने बाध्यता छ । दम रोगबाट पीडित ६५ वर्षिय आमालाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याएका गौरिगंगा नगरपालिका ३ झिलका हर्क बहादुर शाहीले पनि अस्पतालको तेस्रो तला सम्म पिठ्युमै बोकेर पु¥याएको बताए । गम्भीर प्रकृतिका विरामीको छिटोछरितो उपचार गर्नका लागि अस्पतालमा पर्याप्त मात्रामा स्टेचर र हुईलचियर हुनुपर्ने हो ।
त्यसका लागि ¥याम्प अथात् ओसार्ने बाटो बनाईनुपर्ने भएपनि सेती अञ्चल अस्पतालले भने पहिलो तलासम्म मात्र ¥याम्पको व्यवस्था गरेको छ । त्यसको विकल्पको रुपमा सञ्चालन गरिएको लिफ्ट बिग्रिपनि मर्मतमा भने अस्पताल गम्भीर देखिएको छैन् । पहिलो तलाको ढोकाको एलाइमेन्ट बिग्रिएकाले दुर्घटना हुने खतरा हुदा लिफ्ट बन्द गरिएकोसेती अञ्चल अस्पतालका प्राविधिक प्रमुख अरुण पनेरुले बताए । यता, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले भने अस्पताल प्रमुखको जिम्मेवारी लिएको केही दिन मात्र भएकाले सो विषयमा छलफल गरी चाडै लिफ्ट मर्मत गरिने दावी गर्छन् । प्रदेश नम्बर ७ को रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालको यस्तै लापरवाहीका कारण प्रदेशभरीबाट उपचारका लागि आउने विरामीले सास्ती खेप्दै आएका छन् भने प्रदेश सरकार समेत अस्पतालका कमी कमजोरी सुधार गर्नमा उदासिन बन्दा जनताको स्वास्थ्यमाथि खेलवाड हुने कामले निरन्तरता पाएकोे छ ।