घरमै बढाउनुस् अक्सिजनको मात्रा
मानिसको श्वासप्रश्वासका लागि अक्सिजन अति आवश्यक हुन्छ । अक्सिजनविना मानव जीवन सम्भव छैन । तर, पछिल्लो समय सहरी क्षेत्रमा बोटबिरुवा अत्यन्तै कम हुँदा र अत्यधिक प्रदूषणका कारण अक्सिजनको मात्रा कम हुने वा स्वच्छ नहुने समस्या छ ।
यसका लागि घरमै विभिन्न बिरुवा रोपेर अक्सिजनको मात्रा बढाउन सकिन्छ ।
वेस्टर्न फर्न
यो प्लान्ट रोपेपछि त्यति धेरै हेरचाहको जरुरत हुँदैन । यो आफैँ हुर्कन थाल्छ । थोरै चिल्लो भएको माटो र सूर्यको किरणबाट टाढा राख्दा यसलाई फक्रने वातावरण मिल्छ । यसलाई डाइनिङ रुम या बाथरुममा राख्न सकिन्छ । यसको पातले इन्टेरियरमा अकर्षण बढाउन पनि सहयोग गर्छ । यसले हावामा भएको केमिकललाई एब्जर्भ गर्छ ।
एलोभेरा
एलोभेराले हावालाई शुद्धीकरण गर्नुका साथै छालालाई सुन्दर बनाइराख्न पनि सहयोग पुग्छ । यसको बोट हुर्कन निकै कम पानी भए पनि हुन्छ । यसको पात निकै मोटो हुन्छ । पातलाई काट्दा भित्री भागबाट एक प्रकारको जेल निस्कने गर्छ । यसले कैयौँ रोगमा औषधिको पनि काम गर्छ । यसलाई पनि त्यति धेरै संरक्षणको आवश्यकता पर्दैन ।
एरेका पाम
एरेका पामले कार्बनडाइअक्साइडलाई अक्सिजनमा परिवर्तन काम गर्छ । यसको संरक्षणका लागि हरेक पातलाई सफा गर्न जरुरी हुन्छ । हरेक तीन–चार महिनामा यसलाई घामको आवश्यकता पर्छ । यसलाई लगाउन पनि माटोको प्रयोग गर्न सकिन्छ ।
मनिप्लान्ट
मनिप्लान्टको पातको आकार सातदेखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो बिरुवा निकै कम प्रकाशमा पनि जिउँदो रहन सक्छ । यसलाई हुर्कन पानी र माटो दुवैको आवश्यकता पर्छ । मनिप्लान्टमा वायुमा भएको कार्बनडाइअक्साइडलाई ग्रहण गरी अक्सिजन रिलिज गर्ने क्षमता हुन्छ । मनिप्लान्टले हावामा कार्बनडाइअक्साइडको मात्रा कम गर्न र हामीले लिने सासलाई शुद्ध गर्न पनि सहयोग गर्छ ।
पाइन प्लान्ट
घरको हावालाई स्वच्छ बनाउनका लागि यो बोट निकै उत्कृष्ट मानिन्छ । यस्तो बोटको पात स–साना हुने गर्छ । यसलाई त्यति धेरै हेरचाह वा स्याहारको पनि आवश्यकता पर्दैन । तर, समय–समयमा यसको काटछाँट भने गर्न जरुरी हुन्छ । सबैभन्दा महŒवपूर्ण कुरा के भने यो बोटले रातको समयमा पनि अक्सिजन रिलिज गर्छ । यसलाई गमलामा सजाएर घरको जुनकुनै कोठा वा ठाउँमा राख्न सकिन्छ ।
स्नेक प्लान्ट
स्नेक प्लान्टलाई नाग रुख भनेर पनि चिन्ने गरिन्छ । यो बिरुवा हुर्कन निकै कम घामको किरण भए पुग्छ । यसका साथै पानीको पनि त्यति धेरै आवश्यकता पर्दैन । हावालाई फिल्टर गर्नका लागि बोट निकै राम्रो मानिन्छ । त्यसैले यसलाई आफ्नो स्लिपिङ रुम या अफिसको क्याबिनको कुनै कुनामा सजाएर राख्न सकिन्छ ।