सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार विरोधी सभामा केही काँग्रेसी नेताको चिउँडोमा मास्क देखियो, तर पूर्व स्वास्थ्यमन्त्री गगन थापाको मुखमा मास्क खोइ ?

समाचार टिप्पणी

२०७७ मंसिर २९, ०७:१३ लखन चौधरी

धनगढीः नेपाली काँग्रेसले गरेको देशव्यापी सरकार विरोधी प्रदर्शनको क्रममा सोमबार दिउसो सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका सडक पनि निकै तात्न पुगे। जहाँ नेताहरूले सत्ताधारी नेताहरूको खेदो खन्नमा आफ्नो अधिकांश समय खर्चिए । 

तर हजारौं कार्यकर्ताको सहभागितामा आयोजित जनप्रदर्शन तथा विरोध सभामा कोभिड सुरक्षा सतर्कताबारे ध्यान दिनेतर्फ नेताहरूले त्यति धेरै ध्यान दिन सकेको देखिएन ।

कोभिड-१९ ले सुदूरपश्चिममा ६६ जनाको ज्यान लिइसकेको छ भने संक्रमित संख्या १३,००० नजिक पुगिसक्यो ।

जिम्मेवार प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेपाली काँग्रेसले स्वास्थ्य सतर्कता अपनाउनमा भने पूर्णरुपमा बेवास्ता गरेको पाइयो।भलै केही कार्यकर्ताले धनगढी चौराहामा केही मास्क वितरण गरेको देखिएपनि त्यो मानिसको नाक र मुख छोप्न प्रयोग भएको पाइएन । 

‘जय नेपाल दाइ वा भाइ’ भनेका आवाज सुनिएको भिडभाडमा भौतिक दूरी त झनै कल्पना बाहिरको कुरा भइहाल्यो । 

मास्कको नियम बेवास्ता गरिएको यस्तै दृश्य हालै कोरोना कहरबीच नै भएका राजावादी समूह र अन्य दलका भेलामा पनि देखिएकै हुन्। तर जिम्मेवार प्रतिपक्षी दलको सभामा पनि उस्तै उस्तै दृश्य देखियो ।

न भौतिक दूरी, न त मुखमा मास्क
धनगढीको चौराहादेखि पार्क चोकसम्म हजारौंको सहभागितामा गरिएको प्रदर्शनको क्रममा काँग्रेस नेताहरुको नाक र मुखमा मास्क देखिएन; अधिकांशको मास्क चिउँडोमा झरिसकेको थियो (तस्बिरहरूमा हेर्नुहोस्) ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पनि चिउँडोमा आफ्नो मास्क लगाएको फोटो फेसबुकमा राखेका छन् । 

यहाँसम्म कि पूर्व स्वास्थ्य मन्त्री समेत रहेका काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले समेत खुल्लम् खुल्ला, विना मास्क करिब पौने घण्टा सरकार विरोधी भाषण गरे। मञ्च बाहिर पनि उनले मास्कमा त्यति ध्यान दिएको पाइएन । 
केही समयअघि कोरोना संक्रमणबाट पीडित समेत भइसकेका नेता थापा धनगढीको सभामा कोभिड स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने चुकेको पाइयो ।

नेताहरूले के कोभिड बिर्सिएकै हुन्?
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कडा आलोचना गर्दै नेता थापाले भने, ‘सुदुरपश्चिमको मुख्यमन्त्रीले आफ्नो हैसियत राख्न सक्नु भएन। यत्रो कोरोना कहर भएको बेला योगेश भट्टराईको कुर्सी ठटाएर ‘पैसा बोकेर आएको छु, प्लेन देउ स्वास्थ्य सामाग्री म ल्याउँछु’ भन्न सक्नु भएन । 

‘तपाईं आज लेखराज भट्टले दिएको स्यानिटाइजर र भीम रावल दिएको मास्क बाँड्दै हिड्नु भएको छ ।’

तर त्यस्तो भाषण गर्दै गर्दा नेता थापाको आफ्नै अनुहारमा मास्क देखिएन।

सुदूर पहाडमा पनि उही हाल
देशव्यापी रूपमा भएका प्रदर्शनका क्रममा काँग्रेस नेता कार्यकर्ताले कैलाली जस्तै अन्यत्र पनि मास्क र अन्य कोभिड सुरक्षा उपाय पालना गर्न ध्यान दिएको पाइएन । 

त्यस्तो सावधानी राजधानी काठमान्डूमा पनि नअपनाइएको भन्दै सामाजिक सञ्जालमा चिन्ताहरू व्यक्त भइरहेका छन् । 

सुदूर पहाडको डोटीको दिपायलमा हजारौंको संख्यामा उपस्थित विरोधसभालाई सम्बोधन क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले पनि स्वास्थ्य सतकर्ता अपनाउन सायद त्यति उचित ठानेनन् । 
उनले पनि विना मास्क हाकाहाकी सरकार विरोधी भाषण गरे जसको समर्थनमा अन्यत्रजस्तै कार्यकर्ताले ताली पड्काए ।

सोमबार भएका सभामा काँग्रेसका नेताहरु देशका अन्य भूभागमा जस्तै सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय दैनिकजसो कोरोनाबाट ज्यान गुमाइरहेका र दैनिक ठूलो संख्यामा थपिइरहेका कोरोना संक्रमितलाई नजरअन्दाज गरेको प्रस्ट भयो । 

संक्रमण फैलिने जोखिमलाई पूरै बेवास्ता गरियो । 

अर्कोतिर अझैसम्म निषेधाज्ञा फुकुवा गरेकोबारे औपचारिक घोषणा गर्न नसकेको सरकार तथा स्थानीय प्रशासन पनि रमिते बने। केही समय अघि राजावादी भनिने समूहहरूको प्रदर्शन कोभिड सुरक्षालाई ध्यान दिन भन्दै रोक्न कस्सिएको सरकार काँग्रेसी सभामा भने मूकदर्शक बन्न पुगेको सबैले देखे ।

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस