गर्भवतीले कफी पिउनु हानिकारक
गर्भावस्थामा के खाने, के नखाने, के गर्ने, के नगर्ने सबै कुरामा ख्याल राख्नुपर्छ । किनभने यो शरीरको एक संवेदनशिल चरण हो । यही चरणमा गरिने कतिपय गल्तीले गंभिर समस्या निम्त्याउन सक्छ ।
गर्भावस्थामा मदिरापान, धुमपान त बर्जित नै छ । गर्भवतीले मदिरा सेवन गर्दा धुमपान गर्दा त्यसको सोझो असर गर्भको बच्चाले झेल्नुपर्छ । यस्ता आमाबाट जन्मिएका बच्चाले जन्मजात रोग बोकेर आउँछ । त्यही कारण गर्भावस्थामा खानपानमा निकै सजग हुनुपर्छ ।
तर, मदिरा मात्र पनि होइन रहेछ, कफी समेत गर्भावस्थामा हानिकारक रहेछ ।
कफीको तलतल
साथीहरुसँग बसेर कफीको चुस्कीसँगै गफगाफ गरेर समय बिताउन मन नपर्ने मानिसहरु कमै हुन्छन् । अझै युवापुस्तामा त कफीको अचम्मको क्रेज छ ।
धेरै मानिसहरुलाई कफी पिउने लत नै लागेको हुन्छ । कफी विश्वभर रुचाइने लोकप्रिय पेय पदार्थ हो । नेपालमा पनि कफी कल्चर बिस्तारै बढ्दैछ ।
केही वर्षअघिसम्म काठमाडौंको ठमेल, दरबारमार्गमा फाट्टफुटट देखिने कफी आउटलेटहरु अहिले काठमाडौं लगायत अन्य प्रमुख शहरहरुका व्यस्त चोक, मल, सपिङ सेन्टरहरुमा समेत विस्तार भएको छ ।
क्याफेमा मात्रै होइन घरमै पनि कफी बनाएर पिउने चलन बढेको छ । कफी पिउनुका धेरै फाइदाहरु छन् । नियमित रुपमा कफी पिउनाले मुटुको रोग, टाइप टु डायबिटिज, पार्किन्सन, डिप्रेशन जस्ता समस्याबाट बच्न सकिन्छ ।
तर, यसका केही बेफाइदा पनि छन् । विशेषगरि गर्भवती महिलाहरुले कफि पिउने वा नपिउने भन्ने बारेमा डाक्टरहरुको समेत फरकफरक विचार पाउन सकिन्छ ।
गर्भावस्थामा किन नपिउने कफी ?
गर्भावस्थामा दैनिक दुई कप सम्म कफी पिउँदा कुनै समस्या हुँदैन भन्ने धेरै चिकित्सकहरुको धारणा थियो । तर, हालै गरिएको एक अध्ययन अनुसार गर्भवती महिलाले कफी पिएमा गर्भपतनको खतरा बढ्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थामा प्रतिदिन ३०० मिलिग्राम सम्म कफीको सेवनले स्वास्थ्यलाई कुनै हानी गर्दैन तर, स्विडेनमा हालै भएको एक अध्ययनको नतिजाले भने यस कुरालाई नकार्छ ।
स्विडेनको सहृलग्रेन्स्का विश्वविद्यालयका शोधकर्ताहरुको अनुसार गर्भावस्थाको क्रममा यदि कुनै महिलाले १०० ग्राम क्याफिनको मात्रै सेवन गरेमा पनि उनीहरुको शिशुको तौल २१ देखि २८ ग्राम सम्म घट्न सक्छ ।
सामान्य रुपमा कुनै नवजात शिशुको तौल ३.६ किलो हुनुलाई राम्रो मानिन्छ । शोधकर्ताहरुका अनुसार क्याफिनको सेवनले बच्चाहरुको तौल मात्रै होइन उनीहरुको उचाईमा पनि प्रभाव पार्छ । तर, अहिलेसम्म यस बारेमा उनीहरुले कुने तथ्य जुटाएका छैनन् ।