धनगढीमा मासु व्यवसायको जग बसाल्ने जोडी भन्छन्, ‘२ ब्रोइलर काट्दा आँसु झर्थ्यो’
सन्तमाया र वार्ता बिकको संघर्षको यात्रा
धनगढीः कैलालीको धनगढी चौराहाकी ५६ वर्षीया सन्तमाया बिक २४ वर्ष पहिले मासु पसल सञ्चालन गर्दाको तिता पल सुनाउँदै जिब्रो टोक्छिन् ‘२ वटा बोइलर काटे। यो त आलु हो, को खान्छ? भन्दिन्थे। ग्राहकको कुरा सुन्दा आँखाबाट आँसु नै झथ्र्यो। बोहनी समेत नहुँदा मन रोएर आउँथ्यो।’
विवशताले धकेलिएपछि श्रीमान बार्ताबहादुरले ४ सन्तानसहित सन्तमाया बिकलाई २०५४ मा चितवनको नारायणघाटबाट धनगढी ल्याए। जिविकोपार्जनको बाटो मासु व्यवसाय रोजे। लाख हन्डर खाए । अन्ततः कैलालीको धनगढीमा कुखुराको मासु काटेर बिक्री गर्ने पसलको पहिलो जग बसाले।
‘हामी धनगढी आउँदा १ जना मधेशी समुदायका व्यक्तिले जिउँदो मुर्गा बेच्नुहुन्थ्यो। काटेर कोही पनि बेच्दैनथे। हामीले नारायणघाटबाट बोइलर मुर्गा ल्याएर बेच्न सुरु गर्यौ। बिक्री नहुँदा जीन्दगी कसरी चल्ने होला, भनेर रोएर बस्थे’ सन्तमायाले विगत स्मरण गर्दै अगाडि थपिन्।
नारायणघाटमा हुँदा सन्तमाया बिकको जीवन सामान्य थियो। १२ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएका बार्ता र सन्तमायाले ९ वर्षसम्म निःसन्तान रहेपछि २ छोरा र २ छोरी जन्माए।
त्यसताका बार्ता बिकले केही साथीहरु मिलेर साझेदारीमा मनकामना फिड उद्योग सञ्चालन गरे। उद्योग नचलेपछि उनी ऋणमा डुबे। नारायणघाटमा घरबारबिहीन बने। बालबच्चा बोकेर धनगढी आए। कोठा भाडामा लिएर बस्न थाले।
सन्तमायाले भनिन्, ‘हामीहरु त्यति पढेलेखेका मान्छे नार्ई, उद्योग डुबेपछि सडकमा आयांै। जे होला होला भनेर धनगढी आयाै। पेट पाल्नलाई नारायणघाटबाट बोइलर ल्याएर धनगढीमा काटेर बेच्न थाल्याै।’
२०५४ सालमा नारायणघाटबाट धनगढी आउँदा उनीहरु तत्कालीन धनगढी नगरपालिकाका मेयर किशोर कुमार बमका दाजुको घरमा कोठा भाडामा लिएर बसे।
त्यसपछि २०५५ सालमा धनगढी नगरपालिकामा नारायणी मासु पसल दर्ता गरेर उनीहरुले विधिवत रुपमा मासु पसल सञ्चालन गरेका हुन्।
कामप्रति लगनशिल सन्तमाया
कामप्रतिको लगनशिल र निकै मेहनती सन्तमाया र वार्ताको जोडी ग्राहकको तिखो वचन र कामलाई कहिल्यै हिन भावनाले हेरेनन्।
वार्ता बिक अगाडि भन्छन्, ‘त्यतिबेला अहिलेको जस्तो सडक, सवारी साधन पनि थिएनन्। तर हामीले यहि काम गर्नुपर्छ। आज नाफा नहोला, भोलि त अवश्य होला भनेर कामलाई कहिल्यै विश्राम दिएनौं। आज आएर राम्रो भयो। हाम्रोसँगै सन्तानकै भविष्य राम्रो भयो।’
हाल वार्ता बिक सुगर र आँखाको विरामी छन्। तर आफुले थालेको पेशामा सन्तानले काँध थापेपछि उनीहरु सन्तुष्ट छन्। उनका छोरा र बुहारीले व्यवसायलाई विस्तार गर्दै लगेका छन्।
फलतः ३० हजार रपैयाँको लागतमा सुरु गरेको व्यवसायमा हाल आएर मासिक ८ लाख रुपैयाँदेखि १० लाख बढीको कारोबार हुँदै आएको सन्तमाया बताउँछिन्।
सुरुवाती लगानीबारे उनी भन्छिन् ‘सुरुमा लगानी ३० हजार लाग्यो । त्यसमध्ये १५ हजार साहुले भाग्ने हुन् कि भनेर अग्रीम पैसा लियो। १५ हजारको अचानोसहितको औजार जुटाउनमै लाग्यो। कुखुरा चाहीँ नारायणघाटको साहुले उधारोमा पठाइदियो। सुरुवाती केही महिना अप्ठ्रो भएपनि अब सहज भएको छ।’
उनीहरुको अथक परिश्रमको परिणाम स्वरुप व्यापार फस्टायो। वाहवाही बटुले। पछिल्लो समय कैलाली जिल्ला बोइलर मासुमा आत्मनिर्भर हुने क्रममा छ। उनीहरुले व्यवसाय सुरुवात गर्दा धनगढीमा मासु काटेर बेच्ने गरिएको थिएन। मासु काटेर बेच्ने कार्यको उनीहरुले सुरुवात गरे। हाल धनगढीमा सयौैं मासु पसल सञ्चालनमा छन्।
उनीहरुले धनगढीको चौराहामै जग्गा जोडेर घर बनाए। व्यवसायलाई थप उचाइमा पुर्याउन संघर्षरत छन्।
पशु वधशाला सञ्चालनको तयारी
मासु पसललाई समयानुसार व्यवस्थित गर्दै लगेका छन्। उनीहरु मासु प्रशोधन सँगै पशुपंक्षी वधशाला निर्माणको तयारीमा जुटेको सन्तमायाका जेठो छोरा ज्ञानेन्द्र बिक बताउँछन्। मासु प्रशोधन गरेर ससेज, बाकुन, सलामी, होम र सुकुटी बनाउने तयारीमा जुटेको तर कोरोना महामारी र केही प्राविधिक कठिनाइले सञ्चालनमा समस्या भएको ज्ञानेन्द्र बिकको भनाइ छ।
रोजगारी सिर्जना
मासु पसलले उनीहरुको जिविकोपार्जन मात्रै भएको छैन। उद्योगको रुपमा व्यवसाय फष्टाउन थालेपछि रोजगारी पनि सिर्जना भएको छ। ९ जनालाई रोजगारी समेत प्रदान गर्न सफल भएको सन्तमाया बताउँछिन्।