सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउकी

२०७५ भदौ १६, ११:५९

आमा– मलाई आफ्नो बचपनजस्तो 
आँखामा हरदम नाचिरहने
सानो भाईका खेलौनाहरु साह्रै मनपर्छन् ।
बाबा – मलाई आँखाको चञ्चले नानीझैं 
हाम्रै घरको छानोमाथि मुस्काउँदै उदाउने
आकाशको त्यो सुत्केरी जून औधि मनपर्छ ।
कतिधेरै फूलहरु फुल्छन् आँगनभरी
र फूल्छन् ओठभरी कतिथरी निर्दोष मुस्कानहरु ।
आफ्नै हातको स्पर्शले हुर्काएका फूलहरु
कति धेरै मायालाग्दा हुन्छन् हगि !
आमा – मलाई किताबहरु पनि साह्रै मन पर्छन् ।
र मन पर्छन् कितावभित्र 
चेतनाका फूलसंगै रमाउने अक्षरका पुतलीहरु ।

सुत्केरी जूनको सन्तानजस्तो
आफ्नै जिन्दगीका रंगहरु चिन्न नपाउँदै
विहे गरिदिनु भयो  देउतासँग
र भन्नुभयो जाऊ छोरी उसैसँग
भन्नु न आमा देउता कस्तो हुन्छ ?
के देउता म बस्ने मन्दिरको सानो खोपामा अटाउँछ ?
हजुरहरुले भेटी चढाएको मलाई
के अरुले चढाएका भेटीहरुलाईझैं माया गर्छन् देउताले ?
भन्नु न बाबा –
हजुरको दीर्घायुको कामना गर्दै 
आमाले गुनगुनाउने भजनको देउतालाई 
मन पर्छ–पर्दैन विधवाको खाली सिउँदोजस्तो मेरो जिन्दगी ?
घरको आँगनमा कतिधेरै फूलहरु फुल्छन् हगि !
कतिथरी पुतली आएर जिस्काउँछन् फूलको जवानीलाई
आफ्नै दौंतरीजस्ता फूलसँग जिस्किन नपाउँदै
पुतलीजस्तो आफ्नै भाइलाई काखमा खेलाउन नपाउँदै
भेटी चढाइदिनु भयो मन्दिरको कुनै देउतालाई ।
बाबा–मलाई हजुरको आत्मीयताको बुँई चढेर
आफ्नै सपनाको क्षितिजमा
सूर्यसंगै अस्ताउँदै गरेको खुसीको इन्द्रेनी छुन मन थियो ।
बाबा – मलाई, गोधूलि साँझमा गोठालाहरुसँगै
घर फर्किरहेका बस्तुभाउझैं
भाईको हात समाएर फर्किन मन थियो स्कुलबाट उसैगरी ।
मलाई यो देउताको स्कुल कत्ति पनि मन पर्दैन
आमा–मलाई यहाँ कसैले पनि लोरी सुनाउँदैन जिन्दगीको ।
कतिचाडैं बिहान नहुँदै बिहान भइसक्छ 
मरुभूमिजस्तो जिन्दगी–कति धेरै मृगतृष्णा उम्रिसक्छ ।

आँसुहरुको च्यादर ओढेर सुतिदिन्छु कल्पनाको देउतासँग
मेरो तातो आँसुले पोल्छ कि पोल्दैन देउतालाई ?
भन्नु न आमा–आजन्म म कसकी चेली हुँ ?
देउताको कि हजुरहरु कि ?
 

टीकापुर
 

कमेन्ट लोड गर्नुस