डोटीको जोरायलमा हेपाटाइटिस बि को प्रकोप
डोटीको जोरायलमा हेपाटाइटिस बि को प्रकोप फैलिएको छ । प्रदेश ७ को सामाजिक विकास मन्त्रालयका अनुसार जोरायल गाँउपालिका वडा नम्बर २ रुवसकाँडामा हेपाटाइटिस बि को प्रकोप फैलिएको हो । भदौ १६ गते एक सय १२ जनाको रगत परिक्षण गरिएकोमा चार जना संक्रमित भेटिएको र स्थानीय मेडिकलमा रगत परिक्षण गराएका समेत गरेर ११ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । रोगको संक्रमण फैलिएको जानकारी पाउने बितिकै सामाजिक विकास मन्त्रालयको रोग नियन्त्रण महाशाखा र स्वास्थ्य निर्देशनालयबाट डाक्टर विकास दुवाडीको संयोजकत्वमा परिचालन गरिएको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोलीले जोरायलमा विभिन्न जनचेतमुलक कार्यक्रम सञ्चालन गरेको छ ।
जोरायलको रुवसकाँडामा दुई वर्षअघि दुई जना र २२ महिना पहिले एक जना हेपाटाइटिस बि का संक्रमित भेटिएका थिए । सामाजिक विकास मन्त्रालयले संक्रमण नियन्त्रण गर्न प्रवद्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रवाहका लागि लागिरहेको जनाउदै गलत प्रचारका पछि नलाग्न आम सर्वसाधारणमा अनुुरोध समेत गरेको छ ।