सेती अञ्चल अस्पतालका कर्मचारी नै फार्मेसी असफल पार्न सक्रिय (भिडियो सहित)
कमिशनको चक्करमा चिकित्सक र कर्मचारी
लामो समयको संघर्ष र स्वास्थ्य मन्त्रालयको पटक÷पटकको पत्राचारपछि झण्डै दुई वर्ष अगाडी सेती अञ्चल अस्पतालमा सञ्चालन गरिएको फार्मेसी असफल पार्ने चलखेल भइरहेको छ। सर्वसाधारण नागरिकलाई सुलभ मूल्यमा औषधी उपलब्ध गराउन सञ्चालन गरिएको फार्मेसी असफल पार्नमा अस्पतालकै कर्मचारी सक्रिय हुन थालेका छन्। फार्मेसीमा औषधी सकिएको लामो समय सम्म टेण्डर आह्वान नगर्ने, रातविरातको समयमा फार्मेसी बन्द गरेर गायब हुने, पर्चामा औषधी लेखेर फलानो मेडिकलमाजानु भन्दै विरामीलाई पठाउने काम अस्पतालका कर्मचारी र चिकित्सक गर्दै आएको दावी गरिएको छ।
जसका कारण फार्मेसीमा सुलभ मूल्यमा औषधी पाउने आशामा सेती अञ्चल अस्पतालमा उपचार गराउने विरामी र तीनका आफन्त समस्यामा परेका छन्। फार्मेसीमा सिरिन्च समेत उपलब्ध नहुदा बाहिरबाट किन्नुपर्ने बाध्यता छ। आमाको उपचारका लागि गौरीगंगाबाट आएका हर्क बहादूर शाहीले सिरिन्च समेत बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था रहेको बताए। ‘डाक्टरले औषधी लेखेर पठाउछन्, फार्मेसीमा पुग्दा छैन् भन्छन् अनी निजी मेडिकल धाउनुपर्छ।’
उनले भने कर्मचारी र चिकित्सक मिलेर निजी मेडिकलसँग कमिशन लिने आशंका गर्ने प्रशस्त ठाउँ छ। डायलासिस भएका श्रीमानको उपचार गराइरहेका पुर्नवासकी विष्णु गुरुङको गुनासो पनि त्यस्तै छ। उनले सस्तोमा औषधी पाउने आशमा अस्पताल पुग्ने तर फेरी पनि निजी मेडिकल नै धाउनुपर्ने बाध्यता रहेको बताईन्। अस्पतालका कर्मचारी रातीको समयमा फार्मेसी बन्द गरेर गायब हुने गरेका छन् ।
अस्पतालको प्रयोगशालामा केमिकल सकिएको छ भन्दै महंगा टेस्टहरुका लागि बाहिर पठाउने, विरामीलाई हप्तौ कुराएर आजीत पार्दै नीजि क्लिनिकहरुमा जान बाध्य पार्ने र रातीको समयमा फार्मेसी बन्द गरेर नीजि मेडिकलहरुलाई पोस्ने काम भएकाले फार्मेसी असफल बनाई जनतालाई दुःख दिने काम भइरहेको छ। तर सेती अञ्चल अस्पतालको फार्मेसी इन्चार्ज भरत कुँवरले भने आफ्ना कर्मचारीको बाहिर मेडिकलसँग कुनै साठगाँठ नभएको दावी गरेका छन्।