सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत्युको मौसम (कविता)

२०७८ जेठ ९, ११:१९

जन्मेपछि मर्नुपर्छ भन्ने सत्य कुरा, 

जीवन यात्राको भर हुँदैन भन्ने  कुरा, 
थाहा हुँदाहुँदै पनि एक मुठी श्वास रहुन्जेल
अनेक आसहरु सङ्गालेर बाँचिरहने यो मानव चोला
त्रसित बनेको छ आफूलाई कोरोना भनेर चिनाउने मृत्युको 
एक भयाभह  ताण्डव देखेर।

हिजो मात्रै जन्म दिनको शुभकामना पाएको भाइ 
आज हार्दिक श्रद्धाञ्जलीको पात्र बनेको छ। 
बिहान म ठीक छु तिमी आफ्नो ख्याल गर भनेको दाजु
सदासदाका लागि विदा भएका छन्। 
बीस दिन अस्पतालमा बुवाकोे कुरुवा बसेकी छोरी
आँचलभरी आँसु लिएर फर्केकी छे ।
सिउँदोमा सिन्दुर लगाएर ऐना हेर्दै पुलकित भएकी नवयौवनाको
एक कल फोनले सिन्दुर पुछिएको छ।
यो मृत्युको मौसम हो।
मृत्यु ताण्डव देखाउँदै छ।

बाध्य छन यी औँलाहरु 
विवश छन् यी शब्दहरु 
ए प्यारा मान्छेहरु! 
तिम्रो तस्वीरमा श्रद्धाञ्जली लेख्न। 
जाऊ जानेहरु
नरोऊ बाँच्नेहरु
यो मृत्युको मौसम हो।
 
काख रित्तिएकी आमा बेहोस छिन। 
टुहुरा बालक चिच्याइरहेछन।
सिउँदो पुछिएकी नारी पागल छिन। 
बुढी आमाको परान घिक्क घिक्क  छ।
सान्त्वना देऊ  साहस  बढाऊ। 
यो मृत्युको मौसम हो।

 
तिमी मलामी जान पाउँदैनौ।
आमाको घाँटीमा सुनपानी हाल्न पाउँदैनौँ। 
स्वर्ग नर्क थाहा छैन। 
छोरो दागबत्ती दिन नपाउने भयो।
प्रिय मान्छेको अनुहार हेर्नसम्म नमिल्ने।
मृत्युको श्रृङ्खला निरन्तर छ।
ए मान्छे! समाल आफूलाई, 
यो मृत्युको समय हो।
 

छोड संस्कार धर्म चलनका कुरा, 
निभेकाहरुलाई सम्झेर, 
रुनेहरुलाई साहस  देऊ
जहाँ छौ सुरक्षित रहौँ 
ए मान्छे!
यो मृत्युको मौसम हो ।

कलावती उपाध्याय 
गोदावरी, कैलाली 

 

कमेन्ट लोड गर्नुस